२०८१ जेठ ०४ गते शुक्रबार
ट्रेन्डिङ
SansherOnline SansherOnline
शनिबार ०२, असार २०८० ०६:२४
शिवनाथमा एक शिक्षकले  तरकारी खेती, वार्षिक चार लाख आम्दानी

बैतडी : बैतडीमा एक शिक्षक तरकारी खेती बाट राम्रो आम्दानि गर्दै आएका छन् । जिल्लाको शिवनाथ गाउँपालिका–३ पोखरेटीका ४० वर्षीय धनवीरसिंह साउद पेसाले शिक्षक हुनुहुन्छ । 

उहाँ स्थानीय गर्वेश्वर आधारभूत विद्यालयमा अध्यापन गराउनुहुन्छ । साउदको दैनिकी विद्यालयमा पढाउने र बाँकी समय बारीमा तरकारीको हेरचाह गरेर बित्ने गरेको छ । गाउँमा उहाँ ‘नमुना कृषक’का नामले पनि चिनिँदै आउनुभएको छ । साउदले तीन वर्षदेखि व्यावसायिक तरकारी खेती गर्दैै आउनुभएको हो । लोभलाग्दो तरिकाले तरकारी खेती गर्दै आउनुभएका साउदले वार्षिक चार लाख रुपैयाँसम्म आम्दानी गर्नुहुन्छ ।

साउदलाई तरकारी खेतीका लागि शिवनाथ गाउँपालिकाले पोलिहाउस, विषादी, बीउबिजन र प्राविधिक सहयोग गर्दै आएको छ । पोलिहाउसभित्र गरिएको तरकारी खेतीमा अहिले गोलभेँडा, बन्दा उत्पादन भएका छन् । पोलिहाउसमा लटरम्म फलेका गोलभेँडा र बन्दाले सबैको मन लोभ्याउने गरेको छ  । 

साउदले भन्नुभयो, 'पेसाले शिक्षक भए पनि विद्यालयपछिको समयमा तरकारी खेती गर्दै आएको छु । तरकारी खेतीबाटै मैले वार्षिक चार लाख रूपैयाँ कमाउने गरेको छु ।' उहाँले गोलभेँडा, बन्दा, बोडी, अदुवा, बेसारलगायत खेती पनि गर्दै आएको बताउनुभयो । उहाँका अनुसार पाँच रोपनी क्षेत्रफलमा १३ पोलिहाउस निर्माण गरी तरकारी गरिएको छ । उहाँले भन्नुभयो, 'गाउँपालिकाले पोलिहाउस, विषादी, बीउबिजनका साथै प्राविधिक सहयोग गर्दै आएको छ । यसले गर्दा सहज भएको छ ।'

तरकारी खेतीबाट पाँच जनाको परिवारको जीविकोपार्जन भइरहेको साउदको भनाइ छ । 'शिक्षकको तलबबाट मात्रै घरपरिवार पाल्न असहज हुन थालेपछि तरकारी खेती गर्न थालेको हुँ । अहिले छोरालाई स्नातक पढाउन काठमाण्डौ पठाएको छु', उहाँले भन्नुभयो । तरकारी खेतीबाट मनग्य आम्दानी भएको देखेपछि आफूले पनि तरकारी खेती सुरु गरेको उहाँको भनाइ थियो । 

सिचाइँ सुविधा, बजार र यातायातको सहज सुविधा भए तरकारी खेती गर्न अझै सहज हुने साउदले बताउनुभयो । उहाँले भन्नुभयो, 'सिँचाइ सुविधा नहुँदा खानेपानीले तरकारी सिँचाइ गर्नुपर्ने बाध्यता छ, खानेपानी रातिको समयमा सङ्कलन गर्न ट्याङ्की छैन ।'

बारीसम्म सडक विस्तार नभएकाले डोकोमा बोकेर सुल्लेखान उत्पादन भउका तरकारी पुर्‍याउनुपर्ने बाध्यता रहेको साउदको भनाइ छ । उहाँले भन्नुभयो, 'सडक नहुँदा डोकोमा बोकेर सुल्लेखानसम्म पुर्‍याउनुपर्दछ, बाह्रै महिना सञ्चालन हुने गरी सडक विस्तार भए अझै सहज हुने थियो ।' कहिलेकाहीँ उत्पादित तरकारीले बजार नपाउँदा समस्या हुने गरेको साउदले बताउनुभयो । उहाँले भन्नुभयो, 'मेहनत गरेर उत्पादन गरेको तरकारीले बजार नपाउँदा सस्तोमै बेच्नुपर्दछ । स्थानीय बजारमा खपत हुँदैन ।'

शिवनाथमा उत्पादन भएको तरकारी स्थानीय बजारका साथै जिल्लाको मेलौली, पाटन, सदरमुकाम र जिल्लाबाहिर डडेल्धुरा, कैलाली र कञ्चनपुरसम्म पुग्ने गरेको छ । अन्य समयमा तरकारी निर्यात गर्न सुल्लेखानबाट सहज हुने गरेको भए पनि बर्सातको समयमा यस क्षेत्रमा सडक अवरुद्ध हुँदा निकै सास्ती हुने गरेको साउदले जानकारी दिनुभयो । 

आउँदाे वर्षको नीति तथा कार्यक्रम र बजेटमा पनि कृषकका लागि ‘एकघर एक पोलिहाउस’, कृषि उपज ढुवानीका लागि ‘कृषि एम्बुलेन्स’ सञ्चालनको तयारी भएको अध्यक्ष साउदले जानकारी दिनुभयो । गाउँपालिकाभित्र सिँचाइ सुविधा नभएको स्थानमा सिँचाइ, सडक नभएका ठाउँमा सडक सुविधा क्रमशः विस्तार गरिँदै लगिने उहाँको भनाइ थियो ।

प्रतिक्रिया