बैतडी । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरूमा लामो समयपछि हिमपात भएको छ। रातिदेखि परेको हिउँदे वर्षा र हिमपातका कारण बैतडीसहित आसपासका डाँडाकाँडा सेतो हिउँले ढपक्क छोपिएका छन्। सतबाँझ–मुस्याचौर, खोड्पे लगायतका क्षेत्रमा हिमपात भएपछि चिसो बढेको छ। हिमपातसँगै ग्यालेक घुरा, रौलाकेदार, निङ्गलाशैनी भगवती देहिमाण्डौंजस्ता धार्मिक तथा प्राकृतिक स्थलहरू अझ स्पष्ट र आकर्षक देखिएका छन्। हिमपातलाई स्थानीय कृषकहरूले सकारात्मक रूपमा लिएका छन्। हिउँ पग्लिएपछि जमिनमा आवश्यक चिस्यान कायम रहने भएकाले गहुँ, जौ, आलु लगायतका हिउँदे बालीलाई लाभ पुग्ने अपेक्षा गरिएको छ। यद्यपि चिसो र हावाहुरीका कारण केही स्थानमा विद्युत सेवा प्रभावित भएको छ। प्रसारण लाइनमा समस्या आएपछि केही बस्ती अन्धकारमा परेका छन्। जनजीवनमा आंशिक असर परे पनि अहिले बैतडी लगायत सुदूर पहाडी क्षेत्रहरू प्राकृतिक रूपमा अत्यन्तै मनमोहक देखिएका छन्।
प्रतिक्रिया