बैतडी : बैतडीको पञ्चेश्वर गाउँपालिका १ मा रहेको पञ्चेश्वर स्वास्थ्यचौकीमा पानीको अभावमा प्रसूति सेवा बन्द भएको छ । आकासेपानीको भरमा चलेको पञ्चेश्वर स्वास्थ्य चौकीले पानी सकिएको भन्दै आइतबारदेखि प्रसूति सेवा बन्द गरेको हो ।
स्वास्थ्यचौकीमा पानीको अभावमा सेवा सञ्चालन गर्न नसकिने अवस्था आएपछि सुत्केरी सेवा बन्द गरिएको स्वास्थ्यचौकीका इन्चार्ज सुरेश सार्कीले बताए । स्वास्थ्य चौकीको छेवैबाट पञ्चेश्वर गाउँपालिका–१, सल्ला बस्तीका लागि ६० मिलिमिटर मोटो पाइपमा चौबिसै घण्टा पानी आउँछ । स्थानीय बस्तीका मानिसले स्थानीय धामकुडी मन्दिरलाई पानी दिए पनि स्वास्थ्य चौकीलाई पानी नदिएको स्वास्थ्य इन्चार्ज सार्कीले बताए ।
दलित र सुत्केरी महिलामाथि विभेद गर्ने कुप्रचलनका कारण स्वास्थ्य चौकी भएर जाने मन्दिरको खानेपानीको पाइपबाट पानी भर्न नपाएको अनमी निर्मला लावडले बताईन् । स्वास्थ्य चौकीमा प्रसूति सेवा दिन खटिएका स्वास्थ्यकर्मी कोकिला भट्ट र निर्मला लावड स्वास्थ्य चौकीमै डेरा गरी बसेका छन् ।
स्वास्थ्य चौकी भएर जाने खानेपानीको पाइपबाट तीन महिनामा एक रात मात्रै पानी भर्न दिए प्रसूति सेवाका लागि निर्माण गरिएको ३० हजार लिटरको ट्याङ्की भरिने उनले बताए । तर स्वास्थ्य चौकीलाई पानी दिए मुहान सुक्ने डरले स्थानीय पानी दिन तयार नभएको स्वास्थ्य इन्चार्जको भनाई छ ।
प्रतिक्रिया