२०८१ असोज ०४ गते शुक्रबार
ट्रेन्डिङ
SansherOnline SansherOnline
मङ्गलबार २३, जेठ २०८० ०५:४२
सरकारले नयाँ परियोजना मार्फत खप्तडको समग्र विकास गर्नेछ: प्रधानमन्त्री प्रचण्ड

 

 

खप्तड : सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल खप्तड क्षेत्रको समग्र विकासका लागि सरकारले नयाँ परियोजना मार्फत अगाडि बढ्न प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’ले बताएका छन् । खप्तडमा मंगलबारदेखि सुरु भएको प्रथम खप्तड अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलनको उद्घाटन गर्दै सो कुरा बताएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले खप्तड क्षेत्र डोटी, अछाम, बझाङ्ग र बाजुराको संगम स्थलका रुपमा रहेको र यो सुदूरपश्चिमको प्रमुख पर्यटकीय केन्द्र रहेकाले यसको विकासका लागि नयाँ परियोजना संचालन गरेर सरकार अगाडि बढ्ने बताए । ‘प्रकृतिले दिएको यो अनुपम क्षेत्रको विकासका लागि छुट्टै खप्तड क्षेत्र विकास कोष वा प्रतिष्ठान बनाएर नयाँ परियोजनाबाट विकासका काम अगाडि बढाउने छौं’, प्रधानमन्त्री प्रचण्डले भने, ‘यो क्षेत्रलाई पर्यावरण मैत्री बनाउँदै पर्यटन र आध्यात्मिक केन्द्रको रुपमा विकास गर्नु पर्दछ ।’

उनले खप्तड क्षेत्र प्रकृति र आध्यात्मिकताको संगम क्षेत्र रहेकाले सुदूरपश्चिमको लागि यो आर्थिक समृद्धिको केन्द्र हुन सक्ने बताए । भारत लगायत विभिन्न देशका प्रतिनिधिको उपस्थिति रहेकाले खप्तडको महत्व अन्तर्राष्ट्रिय स्तरमा स्थापित भएको प्रधानमन्त्रीले बताए ।

 

प्रधानमन्त्री प्रचण्डले सुदूरपश्चिमको विकासका लागि पहिलेको भन्दा अलि फरक ढंगबाट ध्यान केन्द्रित गरेको बताए । क्याबिनेटबाट सुदूरपश्चिममा स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापनाका लागि निणर्य गर्ने कुरादेखि दोधारा चाँदनीमा सुक्खा बन्दरगाह निर्माण गर्न भरखरै भारत सरकारसंग समेत कुरा भएकाले यहाँको विकासलाई देशको अग्रणी क्षेत्रको रुपमा अगाडि लगिने प्रचण्डले बताए ।

प्रचण्ड शान्ति र क्रान्तिका नायक हुन् : योगगुरु रामदेव

No description available.सोहि कार्यक्रममा बोल्दै भारतीय धार्मिक योगगुरु बाबा रामदेवले नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शान्ति र क्रान्तिका नायक भएको बताएका छन् । उनले प्रचण्ड वास्तविक कम्युनिस्ट भएको दाबी गरे ।

योगगुरु बाबा रामदेवले आफू निःशुल्क खप्तडको ब्रान्ड एम्बेस्डर बन्न चाहेको बताए । खप्तडमा आजदेखि सुरु भएको प्रथम खप्तड अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलनमा बोल्दै रामदेवले उक्त कुरा बताएका हुन् ।

उनले भने, ‘निःशुल्क खप्तडको ब्रान्ड एम्बेस्डर बन्छु, तपाईंले गरेका हरेक काममा मेरो सहयोग हुन्छ ।’

यस्तै, सम्मेलनमा भाग लिन रामदेवसँगै आएका आयुर्बेद शिरोमणि आचार्य बालकृष्णले जीवनमा एकपटक खप्तड हेर्न जानुपर्ने बताए ।

प्रधानमन्त्रीसँगै पूर्वप्रधानमन्त्री झलनाथ खनाल, गृहमन्त्री नारायणकाजी श्रेष्ठ, परराष्ट्रमन्त्री एनपी साउद, सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशी, मुख्यमन्त्री कमलबहादुर शाह, कांग्रेस नेता रमेश लेखक, एमाले नेता भीम रावलको उपस्थिति छ । सम्मेलन तीन दिनसम्म चल्नेछ ।

सुदूरपश्चिम प्रदेश सरकार तथा खप्तड पर्यटन विकास तथा व्यवस्थापन समितिको आयोजना र नेपाल पर्यटन बोर्ड, स्थानीय तहहरुको समन्वयमा सम्मेलन आयोजना गरिएको हो । जेठ २३, २४ र २५ गते संचालन हुने आध्यात्मिक सम्मेलनले यो क्षेत्रको विकास र प्रचार प्रसारका लागि महत्पूणर् टेवा पुग्ने खप्तड क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिका अध्यक्ष एवं आध्यात्मिक सम्मेलन तयारी तथा व्यवस्थापन समितिका संयोजक हर्कबहादुर सिंहले बताए ।

खप्तड बाबाले ५० वर्ष साधना गरेको खप्तडलाई पर्यटकीय हिसाबले ‘भर्जिन’ क्षेत्र मानिन्छ । आध्यात्मिक सम्मेलनपछि खप्तडमा भारतीय र तेस्रो मुलुकका पर्यटक बढ्ने खप्तड पर्यटन विकास तथा व्यवस्थापन समितिका कार्यकारी निर्देशक तथा आध्यात्मिक सम्मेलनका मूल समारोह समितिका सदस्यसचिव भीमबहादुर खड्काले बताए ।

त्रिवेणीधाम, केदारढुंगा, नागढुंगा, खप्तड दह, खप्तड आश्रम, सहस्रलिंग, खप्तडबाबाको कुटी जस्ता पवित्र धार्मिक सम्पदाले यहाँको धार्मिक गरिमालाई थप उचाइ दिएको छ । सो क्षेत्रमा विभिन्न २२ पाटन, ५३ झोती ९टापु० लगायतका आकर्षक संरचना छन् । खप्तड राष्ट्रिय निकुञ्जसमेत रहेको सो क्षेत्र समुद्री सतहबाट तीन हजार दुई सय मिटरको उचाइमा झन्डै दुई सय २५ वर्गकिलोमिटरमा फैलिएको छ ।

खप्तडमा अहिलेसम्म सडक मार्ग भने पुग्न सकेको छैन । विविधताको फूलबारी खप्तड सयौँ प्रजातिका चरा, तीन सय ७२ प्रजातिका वनस्पति र एक सय ३० थरीका जडीबुटीले भरिपूणर् छ ।

डोटीको झिग्रानासम्म यातायातको व्यवस्था भए पनि त्यहाँबाट करिब ४ घण्टाको पैदल यात्रापछि मात्र खप्तड पुगिन्छ ।

प्रतिक्रिया