२०८१ बैशाख ०८ गते शनिबार
ट्रेन्डिङ
SansherOnline SansherOnline
आइतबार ०७, जेठ २०८० ०९:२०
व्यक्तिको रूपरङ्गको आधारमा पीडितको पहिचान हुन्छ त न्यायालय ?
 रसना ढकाल -आइतबार ०७, जेठ २०८० : 
घटना नम्बर १

‘श्रीमान्, विपक्षीको अनुहारले पीडित हो भनेर बताउँछ ? उनको रूपरङ्ग र कपडाको पहिरनले पीडितको पहिचान दिन्छ ? झुठो आरोप कसैलाई लगाउनु हुँदैन, श्रीमान् । उनको पहिरन र रूपरङ्गले नै बताउँदैछ कि उनी कुनै कोणबाट पीडित छैनन्, यो सरासर झुठो हो, आवेगमा आएर यसप्रकारको निर्णय लिए । छोटो-छोटो कपडा लगाएर हिँड्ने अनि जबर्जस्ती करणी गर्न खोज्यो भनेर प्रहरीमा उजुरी गर्न जाने ? श्रीमान्, अन्तमा म मेरो पक्षको यस घटनामा कुनै दोष छैन भन्छु । घटना अनुसन्धान गर्ने नै हो भने विपक्षी नै दोषी देखिन्छ । त्यसकारण विपक्षलाई कानूनबमोजिम सजायको माग गर्दछु !’ यसो भन्दै एक पक्षका वकिलले आफ्नो पक्षको बचावट गर्दै बहस सक्काए । अर्को पक्षको वकिलको बोल्ने पालो आयो ।

‘श्रीमान्, म जाहेरवालाको तर्फबाट अधिवक्ता बोल्दैछु । श्रीमान्, मेरो पक्षलाई पूर्ववक्ता अधिवक्ताज्युले पीडित नभएर पीडकको संज्ञा दिनुभयो, म यो न्यायलयसँग प्रश्न गर्दछु- पीडितको रङ्गरूप कस्तो हुन्छ ? एकचोटि बताइदिनुस् न । श्रीमान्, कोही व्यक्तिको कपडाको लम्बाइको आधारमा उसको चरित्रलाई मापन गर्ने अधिकार यो समाजलाई कसले दियो ? यहाँ कपडा छोटो भएर केही हुँदैन, कसैको पनि नियत छोटो हुनु भएन श्रीमान् । न्यायालय जस्तो पवित्र ठाउँमा पनि यस्ता घिनलाग्दो वाक्य बोल्ने ? यो त एक व्यक्तिको मानहानी हो श्रीमान् । पीडा मनमा हुन्छ, शरिरभरि हुन्छ, भित्रको पीडाले बाहिरी रूपसँग केको सरोकार राख्छ र श्रीमान् ? अनि पीडित हुँ भन्नको लागि फाटेको कपडा लगाएर बस्ने, कपाल छोडेर बस्ने, रुँदै हिँड्ने प्रकारको पीडित हेर्न खोजेको हो श्रीमान् हाम्रो समाजले ? कोही व्यक्तिको पीडा मनभित्र जलिरहेको हुन्छ, उनको पीडालाई बाहिरी रूपरङ्गसँग नदाँजियोस् । पीडितको रंग, आकारप्रकार हुँदैन श्रीमान्, पीडित त पीडित नै हुन्छ, उसको भित्री ह्दय दुःखेको हुन्छ, उ आफूभित्रको पीडा सुनाउन नपाएर छटपटाइरहेको हुन्छ । त्यसैले श्रीमान् यस्ता तर्कहीन कुरा गरेर समय बर्बाद नगरियोस् । मेरो पक्ष पीडामा भएकोले उसलाई कानूनबमोजिम राहत होस् ।

मुद्दाको फैसला आफ्नो पक्षमा पार्न दुवै तर्फका वकिलहरू बहसमा चर्काचर्की गर्दै थिए । एक पक्षले बोलेपछि अर्को पक्षले बोल्नुपर्ने नियमको पनि उनीहरूले पालना गरेको जस्तो देखिएन । आफ्नो पक्षको हितको लागि अपवाद बाहेक वकिलहरूले इमान्दारीपूर्वक नै बहस गर्छन् । बहसमा जस्ता पनि तर्क राख्न पाइन्छ आफ्नो पक्षको हितको लागि । तर पक्षको बचावट गर्दा विपक्षको आत्मामा ठेस लाग्न हुन्न भन्ने मानवअधिकारको सम्मानको सिद्धान्तलाई बहस गर्ने वकिलहरूले पनि बुझनुपर्ने हुन्छ ।

मुद्दा थियो जबर्जस्ती करणी उद्योगको । एक व्यक्तिले आफूले एकोहोरो मनपराएको युवतीलाई घर–परिवार कोही नभएको मौका पारेर जबर्जस्ती गर्न खोजेका थिए तर पीडित व्यक्तिले दोस्रो पक्षलाई लात्तिले हानेर त्याहाँबाट फुत्केर भागिन् र, सिधै प्रहरीमा उजुरी गर्न गइन् । प्रहरीले उनको उजुरीको आधारमा अभियुक्त पक्राउ गर्यो ।

घटना नम्बर २

‘श्रीमान् यी त पुरुष हुन्, के यिनीलाई पीडित भन्न मिल्छ ? हामीकहाँ पुरुष कहिलेदेखि पीडित हुन थाले ? उल्टै यिनैले पीडा दिएका छन् । पत्नीलाई समय नदिने, काम भनेर जहिले पनि बाहिर जाने ! हो, यिनी सरकारी जागिरे हुन् तर यिनले पीडा दिएका छैनन् भन्न मिल्दैन श्रीमान् ।…’ यस्तै-यस्तै कुतर्क एक महिला अधिवक्ताले इजलासमा राख्दै थिइन् तर संयोगले ती पीडित पुरुषको बहस गर्ने पनि महिला नै थिइन् । उनले विपक्षी अधिवक्ताको प्रश्नको जवाफ दिइन्- ‘पुरुष हुँदैमा पीडित नहुने यस्तो कहाँ लेखेको छ र श्रीमान् ? पुरुषलाई सधै यो समाजले हिंसक नै हेर्न खोजेको हो ? के सबै पुरुष खराब हुन्छन् ? हिंसाप्रभावित धेरै पुरुषहरूलाई बोल्न कुनै ठाउँ छैन श्रीमान् ? प्रशासनमा जाओस् उसको कुरा सुन्दैन, उल्टै महिलालाई काखी च्याप्छन् । सही र गल्ती छुट्याउने कुनै ठाउँ हुँदैन पुरुषलाई त्यही भएर अधिकांश पुरुषहरू आत्महत्या गर्न बाध्य छन् र भइरहेको पनि छ । कानून व्यक्तिको लागि हो श्रीमान् कुनै एक लिङ्गलाई विशेष र अर्को लिङ्गलाई दोष दिनलाई कानुन बनेको होइन । यसलाई गलत तरिकाले ब्याख्या नगरियोस् । महिला हुँदैमा निर्दोष हुने र पुरुष हुँदैमा बलत्कारीको ट्याग लाग्ने यस्तो पनि हुन्छ र श्रीमान् ? हामी कस्तो कानूनी राज्यमा बसेका छौँ जहाँ गल्ती नै नभइ यसैले गल्ती गरेको भनेर आवाज उठाउने, उसको विरुद्धमा चर्का-चर्का भाषण गर्ने ? चारैतिरबाट उसको मुख बन्द गर्न बाध्य बनाउने ? के यही गर्न खोजेको हो त श्रीमान् ? अपराध भएपछि अनुसन्धान गर्ने अधिकार नेपाल प्रहरीलाई छ । उसँग घटनाका आँकडा छन् । कस्ता-कस्ता घटनाहरू बढिरहेको छ र के कारणले बढेको छ, यो विषयमा अनुसन्धानकर्तालाई नै धेरै थाहा हुन्छ । अनि हामीबीचका मान्छे एकतर्फी कुरा सुनेर सिधै व्यक्तिमाथि प्रहार गरिदिन्छौँ । यसलाई गणतन्त्र भन्ने कि कानूनको राज्य भन्ने श्रीमान् । हिंसा यसैले गरेको भनेर समाजले गलत व्याख्या गर्ने कस्तो समयमा हामी छौँ । वास्तविकता के हो बुझनु पर्यो श्रीमान् । अन्तमा मेरो पक्ष आफ्नो परिवारबाट प्रताडित भएको हो, प्रमाणहरूले पनि देखाउँछ । त्यसैले विपक्षीले लगाएको आरोप सरासर झुठो हो मेरो पक्षलाई कानूनले न्याय दिनुपर्छ ।’

मुद्दा थियो अंशसहित सम्बन्धविच्छेदको यहाँ पुरुषले कमाएको सबै सम्पत्ति पत्नीको नाममा राखेका थिए । र, पत्नीले त्यो सम्पत्ति दुरुपयोग गरेर पतिमाथि यातना दिएकी थिइन् । पतिको उपर उनको बुबा-आमा, सानो भाइ र आफ्नो एक छोरीको जिम्मेवारी थियो र, आफ्नो जागिरले त्यो जिम्मेवारी थेग्न गाह्रो थियो । पछि पत्नीले परिवारहरूप्रति आफ्नो जिम्मेवारी नदेखाएको र अचानक सम्बन्धविच्छेद गर्ने मनसाय राखेको भएर पति-पत्नी अंशको लागि मुद्दा लडिरहेका थिए ।

पीडित हुनलाई लिङ्गले मापन गर्छ ?

पीडित हुनलाई लिङ्गले कदापि मापन गर्दैन । हमीले लैङ्गिक हिंसाको परिभाषा हेर्छौं भने त्याहाँ स्पष्टसँग भनिएको छ- लिङ्गमा आधारित हिंसा जस्तै पुरुष, महिला र यौनिक तथा लैगिंक अल्पसङ्ख्यक भएकै आधारमा गरिने हिंसा हो भने महिला हिंसा महिलालाई मात्रै लक्षित गरि गरिने हिंसा हो । लैगिंकहिंसा र महिलाहिंसा दुई फरक विषय भए पनि पित्तृसत्ताको चपेटामा महिला नै परेका छन् । पितृसत्तात्मक सोचको व्यापकताको कारण महिला, पुरुष र यौनिक तथा लैगिंक अल्पसङ्ख्यक बीचमा असमान शक्ति सन्तुलनका कुराहरू राखियो । यसले पुरुषलाई बहादुर, बलियो र रुन हुँदैन भन्ने जस्ता हिंसात्मक ट्याग लगाइदियो । महिलालाई तिमी दयालु, मायालु जस्ता लज्जावती विशेषणहरूले भरिदियो । यो सोचको उपज हो हिंसा बढ्नु ! बलियो पक्षले कमजोर पक्षलाई गर्ने व्यवहार नै हिंसा हो र हिंसा कमजोर पक्षलाई नै गरिन्छ र गर्नुपर्छ भन्ने सोच ब्यापक बनाइदियो ।

यसैगरी यौनिक तथा लैगिंक अल्पसख्यकहरूमा शरीरको हाउभाउ र बनावटको आधारमा सार्वजनिक स्थान या अरु स्थानहरूमा हिंसा गर्न थालियो । यति हुँदा परिणामस्वरुप औषतमा महिला उपर नै हिंसा भएको हुन्छ । यति भनिरहँदा पितृसत्ता पुरुषमा मात्रै होइन महिलाभित्र पनि व्यापक छ । किनकि उसको हुर्काइको क्रममा उसले पाएको शिक्षा पनि त्यही नै हो जस्तो शिक्षा पुरुषले पाएको हुन्छ ।

हिंसाका स्वरुपहरू

समयक्रमसँगै अपराधका स्वरुपहरू परिवर्तन भइरहेका छन् । आजभन्दा ५ वर्षअघिका अपराध भन्ने घटनाहरू अहिले ठिक उल्टो तवरले आइरहेको छ । यसले गर्दा वास्तविक घटनाको पीडितले न्याय नपाउने बरु जसले कानूनको दुरुपयोग गरिरहेको छ त्यस्ताले न्याय पाउने सम्भावना धेरै बढेको छ । प्रहरीको एक अध्ययनले भन्छ ५ वर्षयता आएर अपराधको स्वरुपमा परिवर्तन भएको छ । प्रहरीमा निवेदन दिँदैमा त्यो व्यक्ति पीडित हुन्छ भन्ने हुँदैन अपराध अनुसन्धान गर्दै जाँदा सो व्यक्ति पीडकको भूमिकामा देखिएको प्रहरी अध्ययनले बताउँछ । व्यक्ति, घर परिवार, समाज र राष्ट्रलाई नियमन गर्न कानूनको निर्माण भएको हो । कानून सबैको लागि हो, तर कहीँ-कहीँ महिलामूखी अत्यधिक छुट कानूनमा हुँदा त्यसको दुरुपयोग गर्नेहरूको सङ्ख्या पनि बढिरहेको छ । मानवअधिकारको सवालमा काम गर्ने जो-कोही व्यक्तिलाई यो पैरवीको विषय हुन्छ । यसको विरुद्धमा पनि आवाज उठ्नैपर्छ, किनकि महिलाअधिकारको सवाल पुरुषविरोधि सवाल होइन यो त पुरातन सोच तथा हानीकारक मूल्य-मान्यता जसले महिलालाई कमजोर र पुरुषलाई बलियोको दर्जा दियो- त्यसको विरुद्धमा हो । अझ फरक ढङ्गले बुझ्दा लैङ्गिक समानताको लागि हो यो आवाज । एकलाई अपमान गरेर अर्कोलाई सम्मान गर भन्न खोजिएको होइन, तर समाजमा केही यस्ता गलत हर्कत गर्ने तत्वहरूले आफ्नो कृयाकलापलाई चुनौतीको रूपमा उठाइरहेका छन् । तिनको विरुद्धमा बोल्नैपर्छ । किनकि कानून सदुपयोग गर्न बनाइएको हो दुरुपयोग गर्नको लागि होइन ।

यो समाजले महिला रोएको हेर्न चाहन्छ । अहिलेसम्म पनि पीडित भन्नेवित्तिकै रोएर बस्नुपर्ने वा रुनैपर्ने वा साँच्चै नै पीडित हो भनेर चिनाउन आम व्यक्तिभन्दा फरक हुनैपर्छ भन्ने गलत सोच व्याप्त छ जो विल्कुल गलत हो । महिला, पुरुष र यौनिक तथा लैङ्गिक अल्पसख्यक सबै व्यक्तिलाई सम्मानपूर्वक बाँच्न पाउने अधिकार छ । यो मानव अधिकारको विश्व व्यापि सिद्धान्तले बताउँछ । हिंसा गर्नु गराउनु कुसंस्कार र गलत नियतको उपज हो । यहाँ सबै व्यक्ति हिंसक हुँदैनन् । समय क्रमसँगै व्यक्तिमा गलत सोचाइहरू जन्मिरहेको छ । जसलाई हामी हिंसा भएको भन्छौँ त्यसले हिंसा नपाएको पनि हुन सक्छ र जसले हिंसा गऱ्यो होला भनेर तर्क गर्छौं उसले हिंसा नगरेको पनि हुन सक्छ ।

प्रतिक्रिया