२०८२ असार २८ गते शनिबार
ट्रेन्डिङ
१३,१४८ बालबालिकालाई खोप सेवा, उत्कृष्ट स्वास्थ्यकर्मी सम्मानित

बैतडी जिल्ला पुनः ‘पूर्ण खोप दिगोपन सुनिश्चितता जिल्ला घोषणा, उत्कृष्ट स्वास्थ्यकर्मी सम्मानित

SansherOnline SansherOnline
शुक्रबार २७, असार २०८२ ०५:२९
बैतडी जिल्ला पुनः ‘पूर्ण खोप दिगोपन सुनिश्चितता जिल्ला घोषणा, उत्कृष्ट स्वास्थ्यकर्मी सम्मानित

बैतडी : बैतडी जिल्ला पुन एकपटक पूर्ण खोप दिगोपन सुनिश्चितता जिल्ला घोषित भएको छ । १५ देखि ५९ महिनासम्मका १३ हजार १ सय ४८ जना बालबालिकालाई खोप सेवा उपलब्ध गराउँदै आवश्यक मापदण्डहरू पुरा गरेपछि जिल्ला स्वास्थ्य कार्यालय बैतडीले पूर्ण खोप दिगोपन सुनिश्चितता जिल्लाघोषणा गरेको हो । 

२०७२ साल असार ६ गते पहिलोपटक बैतडीलाई नेपालकै सातौँ पूर्ण खोप जिल्ला घोषणा गरिएको थियो । त्यो वर्ष देखि मूल्याङ्कन गरिँदै प्रत्येक वर्ष दिगोपन सुनिश्चितता घोषणा हुँदै आएको छ । पुन घोषणा कार्यक्रमका अवसरमा जिल्लाका १० जना उत्कृष्ट स्वास्थ्यकर्मीलाई पनि प्रमाणपत्र दोसल्ला र नगदसहित सम्मान गरिएको छ । साथै पालिकास्तरमा खोप सुनिश्चितता घोषणा भइसकेका क्षेत्रका स्वास्थ्य प्रमुखहरूलाई पनि प्रमाणपत्र प्रदान गरिएको थियो ।

पूर्ण खोप दिगोपन सुनिश्चितता घोषणा कार्यक्रम जिल्ला समन्वय समिति प्रमुख जिल्ला अधिकारी स्वास्थ्य निर्देशनालय तथा सरोकारवालाहरूको उपस्थितिमा सम्पन्न भयो । स्वास्थ्य निर्देशनालयका प्रमुख डा खगेन्द्र बमले पूर्ण खोप दिगोपन सुनिश्चितता प्रमाणपत्र जिल्ला खोप समन्वय समितिका प्रमुख खगेन्द्रसिंह धामीलाई हस्तान्तरण गर्दै आगामी दिनमा अझ जिम्मेवार भई खोप सुनिश्चिततामा काम गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले राष्ट्रसेवकहरुलाई निर्धक्क भएर काम गर्न आग्रह गरे । 

जिल्ला स्वास्थ्य कार्यालयका खोप सुपरभाइजर हरिशप्रसाद भट्टका अनुसार घरधुरी सर्वेक्षण प्रतिवेदन विश्लेषण अद्यावधिक योजना तथा छुट बालबालिकालाई समेत समेट्ने खोप कार्यक्रमले यस उपलब्धि सम्भव भएको हो ।

जिल्ला समन्वय समितिका प्रमुख तथा संयोजक खगेन्द्रसिंह धामीले स्वास्थ्यकर्मीको लगनशीलता स्थानीय सरकारको सक्रियता र जनचेतनाको समन्वयले लक्ष्यअनुसारको प्रगति सम्भव भएको बताउनुभयो । 
 

प्रतिक्रिया