बैतडी : शनिबार बिहान जिप दुर्घटनामा परेर एकै गाउँका दुई युवाको ज्यान गएको घटनापछि डिलाशैनी गाउँपालिकाले आइतबार आज शोक बिदा दिएको छ । गाउँपालिकाले एक शोक वक्तव्य जारी गर्दै आइतबार गाउँपालिका अन्तर्गतका सबै सरकारी निकायहरू वडा कार्यालय, स्वास्थ्य संस्था, शिक्षण संस्था लगायतमा शोक बिदा रहने जानकारी दिएको हो ।
डिलाशैनी गाउँपालिका ०१ घर भएका ३२ वर्षीय किरनबहादुर बोहरा र २४ वर्षीय सन्तोषबहादुर रानाको मृत्युले गाउँ नै शोकमा डुबेको गाउँपालिका अध्यक्ष सन्तोषप्रकाश जोशीले बताए । बोहरा बरम आधारभूत स्वास्थ्य केन्द्रमा कार्यरत कुशल स्वास्थ्यकर्मी थिए भने राना जिप चालक थिए ।
एकै गाउँका दुइ होनहार युवाको एकैसाथ निधन हुनु पीडादायक र अपूरणीय क्षति हो अध्यक्ष जोशीले भने गाउँले उनीहरूलाई सधैं सम्झिरहनेछ ।
गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख पुरुषोत्तम नाथले स्वास्थ्यकर्मी बोहराको निधनले स्थानीय स्वास्थ्य सेवामा गम्भीर असर पर्ने बताए । एक कुशल सेवामुखी स्वास्थ्यकर्मी गुमाउनु दु:खद हो उनले भने ।
उक्त दुर्घटनाले गाउँमा स्तब्धता र शोक छाएको छ ।
प्रतिक्रिया