२०८१ बैशाख ०६ गते बिहिबार
ट्रेन्डिङ
SansherOnline SansherOnline
मङ्गलबार १९, बैशाख २०८० ०८:३२
सोमबार स्थगित भएको नेपाल र यूएईको खेल सुरु हुँदै, फेरि वर्षा बाधक बने के हुन्छ ?

 

 

 सोमबार वर्षाका कारण स्थगित भएको एसीसी पुरुष प्रमियर कप क्रिकेटअन्तर्गत नेपाल र यूएईबीचको बीच आज (मंगलबार) हुने भएको छ। सोमबार स्थगित भएको अवस्थाबाटै मंगलबार खेल हुने नेपाल क्रिकेट संघ क्यानले जानकारी दिएको छ। 

त्रिवि क्रिकेट मैदानमा सोमबार टस जितेर नेपालले पहिले बलिङ रोजेको थियो। ब्याटिङको निम्तो पाएर मैदान उत्रिएको यूएईले  २७.३ ओभरमा ९ विकेट गुमाएर १०६ रन बनाएको थियो। २७औं ओभर चलिरहँदा वर्षा भएपछि खेल स्थगित भएको थियो। 

मंगलबार पनि सोही स्थितिबाट यूएईले ब्याटिङ थाल्नेछ। खेल रोकिनुअघि युएईका लागि आसिफ खानले सर्वाधिक ४६ रन बनाएका थिए। उनले ५४ बल खेल्दै १ छक्का र ७ चौका प्रहार गरेका थिए। त्यस्तै, आर्यन लाक्राले १३, मोहम्मद वासिमले ११ र बसिर हमिदले १० बनाएका थिए। 

नेपालका लागि ललित राजवंशीले ३ विकेट लिएका थिए। यस्तै, करण केसी र सन्दीप लामिछानेले २–२ विकेट लिएका थिए। गुलसन झा र सोमपाल कामीले १–१ विकेट लिएका थिए। 

मंगलबार पनि वर्षा भए के हुन्छ ? 
जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो समय नेपालमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ। जसको असरस्वरुप मंगलबार पनि वर्षाको सम्भावना छ। मंगलबार देशका पहाडी क्षेत्रमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

सोमबारका लागि तय भएको फाइनल म्याचको मंगलबार ‘रिजर्भ डे’ तोकिएको थियो। मंगलबार पनि वर्षाका कारण पूरा खेल हुन नसके सुपर ओभरबाट नतिजा निकाल्ने प्रयास हुनेछ। 

सुपर ओभर सम्भव नभए अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)को वरीयताअनुसार नेपाल स्वतः विजयी हुनेछ। आईसीसीको एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई)को वरीयतामा नेपाल १४औं स्थानमा छ भने यूएई १९औं स्थानमा छ। 

प्रतिक्रिया