२०८१ बैशाख ०८ गते शनिबार
ट्रेन्डिङ
SansherOnline SansherOnline
शुक्रबार २८, असोज २०७९ ०५:११
प्रभु साहलाई एमालेले गर्‍यो निष्कासन

काठमाडौँ — नेकपा एमालेले स्थायी कमिटी सदस्य तथा मधेस प्रदेशका सहइन्चार्ज प्रभु साहलाई कारबाही गरेको छ । रौतहट क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभामा स्वतन्त्र उम्मेदवारी दिएपछि एमालेले शुक्रबार साहलाई पार्टीबाट निष्कासन गरेको हो ।
त्यस्तै रौतहट जिल्ला इन्चार्ज उपेन्द्र साह र सहइन्चार्ज कुन्दनप्रसाद कुशवाहलाई पनि पार्टीविरोधी क्रियाकलापमा स‌ंलग्न भएको भन्दै पार्टीबाट निष्कासन गरिएको एमालेले जनाएका छन् । महासचिव शंकर पोखरेलले उद्धव रेग्मीलाई सहइन्चार्जको जिम्मेवारी तोकेका छन् । साथै अर्को व्यवस्था नभएसम्मका लागि उनलाई रौतहट जिल्लाको इन्चार्ज तोकिएको पनि महासचिव पोखरेलले पत्रमा उल्लेख गरेका छन् ।

यसअघि एमाले मधेस प्रदेश कमिटीले रौतहट जिल्ला कमिटी विघटन गरेको थियो । पार्टीविरोधी गतिविधि गरेको भन्दै त्रिभुवन साह अध्यक्ष रहेको जिल्ला कमिटी भंग गरिएको हो । एमाले रौतहटका प्रभावशाली नेता प्रभु साहले स्वतन्त्र उम्मेदवारी दिएपछि जिल्ला कमिटी विघटन गरिएको हो । साहले रौतहट क्षेत्र नम्बर ३ मा स्वतन्त्र उम्मेदवारी दिएका छन् । उनीनिकट केही एमाले नेताले समेत मधेसका केही क्षेत्रमा प्रतिनिधिसभा र प्रदेशसभामा स्वतन्त्र उम्मेदवारी दिएका छन् । एमालेबाट विद्रोह गरेका साहलाई सत्ता गठबन्धनले समर्थन गर्नेसमेत निर्णय गरिसकेको छ ।
सत्ता गठबन्धनमा सिट बाँडफाँट हुँदा रौतहट ३ माओवादीको भागमा परेको थियो । रौतहट ३ मा एमालेका स्थायी कमिटी सदस्यसमेत रहेका नेता प्रभु साहले स्वतन्त्र उम्मेदवारी दिएपछि माओवादी केन्द्रका उम्मेदवार धीरज पटेलको उम्मेदवारी निष्क्रिय पारिने भएको हो ।

प्रतिक्रिया