२०८१ बैशाख १८ गते मङ्गलबार
ट्रेन्डिङ
SansherOnline SansherOnline
शुक्रबार ३०, चैत २०८० ०५:२५
बैतडीको सिगास र  सुर्नाया गाउँपालिकाका ४ महिलाले पाए ड्राइभिङ तालिम

बैतडी : एक महिने स्वरोजगार ड्राइभिङ तालिम सम्पन्न भएको छ । ‘सीप सिकौं, स्वरोजगार बनौं’ भन्ने मूल उद्येश्यका साथ सामाजिक चेतना तथा विकास संघ (साडा) नेपाल बैतडीको आयोजना र डडेल्धुराको उग्रतारा ड्राइभिङ ट्रेनिङ सेन्टरको प्राविधिक सहयोगमा ड्राइभिङ तालिम सम्पन्न भएको हो ।

उक्त तालिममार्फत बैतडीका चार महिलाले ड्राइभिङ सिकेका छन् । डडेल्धुरामा रहेको उग्रतारा ड्राइभिङ ट्रेनिङ सेन्टरमा जिल्लाको सुर्नाया गाउँपालिकाका खगेश्वरी भट्ट, मानमती भट्ट, हिमा खत्री र सिगास गाउँपालिकाका मञ्जु धामीले ड्राइभिङ तालिम पाएका हुन् ।

ड्राइभिङ सेन्टरका प्रवन्ध निर्देशक तेजबहादुर ऐरका अनुसार फागुन २८ गतेदेखि सुरु भएको तालिम बिहीबार समापन भएको छ । ‘ड्राइभिङ तालिम दिएर एक महिनामा चारै जना महिलालाई जीप चलाउनका लागि योग्य बनाएका छौं,’ उनले भने, ‘उहाँहरु चारै जना सवारी चालक अनुमति पत्र (लाइसेन्स) निकाल्न सफल हुनुहुनेछ भन्ने पूर्ण विश्वास छ । लाइसेन्स निकालेर उहाँहरु स्वरोजगार बन्नुहुनेछ भन्ने पनि लागेको छ ।’

साडा नेपाल बैतडीका प्राविधिक महेश भण्डारीले सीप सिकाएर महिलालाई स्वरोजगार बनाउने उद्येश्यका साथ ड्राइभिङ तालिम सञ्चालन गरिएको जानकारी दिए । ‘एक महिने तालिमपछि उहाँहरुले जीप चलाउने सीप सिक्नुभएको छ,’ उनले भने, ‘अब लाइसेन्स निकालेर स्थानीयस्तरमै रोजगारी पाउनुहुनेछ भन्ने पनि विश्वास छ ।’
बैतडीको सुर्नाया गाउँपालिकाकी प्रशिक्षार्थी खगेश्वरी भट्टले लाइसेन्स निकालेर स्वरोजगार बन्ने लक्ष्य रहेको बताइन् । अर्की प्रशिक्षार्थी मानमती भट्टले पनि ड्राइभिङको सीप पाएपछि अब आत्मनिर्भर बन्ने आशा पलाएको बताइन् ।

यस्तै उग्रतारा ड्राइभिङ ट्रेनिङ सेन्टरले बिहीबार एक कार्यक्रमको आयोजना गर्दै ड्राइभिङ तालिम पाएका चारै जना महिलाको बिदाई पनि गरेको छ । उनीहरुलाई प्रमाणपत्र पनि प्रदान गरिएको ड्राइभिङ ट्रेनिङ सेन्टरका प्रवन्ध निर्देशक ऐरले जानकारी दिए ।

प्रतिक्रिया