२०८१ जेठ ०४ गते शुक्रबार
ट्रेन्डिङ
SansherOnline SansherOnline
बुधबार २४, साउन २०८० ०६:५२
भिमदत्त राजमार्ग पूर्ण रुपमा संचालन हुन पुरा एक हप्ता लाग्ने

कैलाली : सुदूरपश्चिमका पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग पूर्ण संचालनमा आउन एक हप्ता लाग्ने भएको छ। सुदूरपश्चिम प्रदेशको तराई र पहाडका ७ पहाडी जिल्ला जोड्ने मुख्य राजमार्ग अन्तर्गत कैलालीको गोदावरी देखि खानीडाँडासम्म बिभिन्न स्थानमा पहिरो गएको छ।

बुढीतोला क्षेत्रमा पहिरोले सडक नै भाँसिएपछि मंगलबारबाट तराई र पहाडको यातायात अवरुद्ध भएको हो।सोमबार रातिको वर्षापछि कैलालीको गोदावरी नगरपालिकामा पर्ने बुढीलोलास्थित बाख्रा फार्मभन्दा करिब ३ सय मिटर दक्षिण अत्तरियातर्फ भावर भन्ने ठाउँमा पहिरो खसेको छ भने राजमार्ग चर्किएर सडक भासिएको छ। राजमार्ग अवरुद्ध भएपछि पहाडबाट तराई झर्ने र तराईबाट पहाड जाने सबै सवारी साधन बाटोमा ठप्प छन्।

जिल्ला प्रहरी कार्यालय कैलालीका सूचना अधिकारी डिएसपी कुलदिप चन्दले ८र९ ठाउँमा पहिरो गएको र सो पहिरो हटाएर सडक सुचारु गर्न केही दिन लाग्ने प्रहरी रिपोर्टिङ भएको बताए। पहिरोले अवरुद्ध सडक खोल्न मंगलबार बिहानबाटै सडक डिभिजनको गोदावरीस्थित हेवी इक्पिमेण्ट डिभिजनका उपकरण तथा प्राविधिकहरु खटिएका छन् । तर बेला बेलामा भइरहेको वर्षाका कारण सडक खोल्ने काममा बाधा आइरहेको बताइएको छ।

कोही १ घण्टाको उकालो छिचोलेर वारिपट्टी हिडेरै आईरहेका छन भने विरामी, अशक्त भने अलपत्र परेको स्थानीयले बताएका छन। हेवी इक्विपमेन्ट डिभिजनका डिभिजनल इन्जिनियर हरि सुवेदीले मंगलबार नै सडक खोल्ने कोसिस भएपनि वर्षाका कारण नसकिएको बताए । उनले बुढीतोला र अत्तरिया दुबैतर्फबाट भारी उपकरणको प्रयोग गरेर छिटोभन्दा छिटो सडक सुचारु गर्ने प्रयास भइरहेको जानकारी दिएका छन् । इन्जिनियर सुवेदीले नसोचेका ठाउँमा पहिरो जाँदा सडक भासिएको बताए। ‘पहिरो एकदमै ठूलो छ, पहिरोमा केही घर पनि परेको पाइएको छ।’ जमिनमुनी पनि पानीको अत्यधिक मात्रा रहेको हुनाले एकतर्फी यातायात चल्न सक्ने गरी सडक मर्मत गर्न समेत कठीन भइरहेको इन्जिनियर सुवेदीको भनाई छ।

जमिनमुनी ठूला ढुंगा र रुख रहेकाले पनि समस्या भइरहेको उनले बताए। विगत लामो समयदेखि गोदावरी नदी किनारको मन्दिर क्षेत्रमा व्यापार गर्दै आएकाहरुले सोमवार राति देखि परेको अविरल वर्षाका कारण आएको बाढिले सबै पसल तथा सामान वगाएर लगेको बताएका छन। संघीय सडक डिभिजन कार्यालय महेन्द्रनगरका डिभिजन प्रमुख हरि प्रसाद सुवेदीले अत्तरिया डडेल्धुरा सडक खण्डको विभिन्न क्षेत्रमा गएको पहिरोले वाटो अवरुद्ध भएको र कैलालीको बुढितोलामा करिव ४ सय मिटर बाटो नै भासिएकोले अवरुद्ध वाटो खोल्न केहि दिन लाग्ने बताएका छन। अबिरल बर्षाका कारण सडकमाथि बाट पहिरो आई सोमबार राती १२ बजे देखि सडक पुर्ण रूपमा अवरुद्ध भएको हो। सुदूरपश्चिमका पहाडी जिल्ला बैतडी, दार्चुला, डडेल्धुरा, बझाङ, डोटी, अछाम र बाजुरा आउने सवारी साधन र तराईका जिल्ला तथा काठमाण्डौंका लागि छुटेको सवारी साधन बीच बाटोमै रोकिएका छन्।

प्रतिक्रिया