कैलाली : पहिरोका कारण सोमबार रातिदेखि अवरुद्ध भएको भिमदत्त राजमार्ग अझै सुचारु भएको छैन् । राजमार्ग अन्तर्गत कैलालीको बुढीतोला र खानीडाँडाको बीचमा पहिरोले सडक भासिएपछि सुदूरपश्चिमका सात पहाडी जिल्लाको यातायात अवरुद्ध भएको छ ।
पहिरो पन्छ्याउनका लागि मंगलबारदेखि प्रयास भइरहेको भएपनि लगातारको बर्षाले समस्या भइरहेको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।
बुधबार बिहानैदेखि फेरि पहिरो पन्छ्याउने कार्य भइरहेको भएपनि पानी परिरहेकाले समस्या भएको छ । राजमार्ग अवरुद्ध भएपछि यात्रुहरु बीचबाटोमै अलपत्र परेका छन् ।
केही यातायातका साधनहरुले पल्टी गरेर यात्रुहरुलाई गन्तव्यमा पुर्याउने प्रयास गरिरहेका छन् ।
यसैबीच सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहसहितको टोलीले पहिरो प्रभावित क्षेत्रको निरीक्षण गरेको छ । प्रदेशका मुख्यमन्त्री शाहसहित मन्त्रीहरूले मंगलवार भिमदत्त राजमार्गको पहिरो प्रभावित क्षेत्रको निरीक्षण गरेका हुन् ।
सुदूरपश्चिमका मुख्यमन्त्री शाह, भौतिक पूर्वाधार विकासमन्त्री प्रकाश देउवा, आन्तरिक मामिला तथा कानूनमन्त्री शिवराज भट्ट, गोदावरी नगरपालिकाका नगर प्रमुख विरेन्द्र भट्टले बुढितोलाको भावर टोलमा गएको पहिरो निरीक्षण गरेका हुन् ।
मुख्यमन्त्री शाहले राजमार्ग जतिसक्दो चाँडो सुचारु गर्नका लागि सम्बन्धित निकायलाई निर्देशन समेत दिएका छन् ।
प्रतिक्रिया