२०८१ जेठ ०४ गते शुक्रबार
ट्रेन्डिङ

सुदूरपहाडका सडकहरुको दुराअवस्थाका कारण दुर्घटनाको जोखिम बढ्यो

SansherOnline SansherOnline
आइतबार ०३, असार २०८० ०७:१५
सुदूरपहाडका सडकहरुको दुराअवस्थाका कारण दुर्घटनाको जोखिम बढ्यो

 

बैतडी : सुदूरपश्चिमका पहाडी जिल्लाका सडकहरुको दुरावस्था छ । सडकमा जताततै खाल्टा–खुल्टी हुँदा सवारी साधन चलाउन एकदमै समस्या भइरहेको हो । 

सडकहरुको दुरावस्थाका कारण सवारी चलाउनै मुस्किल भइरहेको सवारी चालकहरुले बताएका छन् । सडकमा भएका खाल्टा–खुल्टीका कारण जोखीम मोलेर सवारी साधन चलाउनु पर्ने अवस्था रहेको ट्रक चालक वलदेभ भट्टले बताए । 

उनले सडकको दुराअवस्थाका कारण सवारी साधन चलाउन समस्या भइरहेको बताए । 

उनले भने, “सडकमा जताततै खाल्टा–खुल्टी छन् । केही ठाउँमा सडक भत्केका पनि छन् । साँघुरा सडकमा खाल्टा–खुल्टी हुँदा साइड दिन पनि समस्या भइरहेको हुन्छ ।’’

साँघुरा तथा खाल्टा–खुल्टी सडकले विपरित दिशाबाट आउने सवारी साधनलाई साइड दिन पनि समस्या भइरहेको बताइएको छ । साना तथा ठुला सवारी साधनहरुको चाप बढ्दा जोखीम मोलेर सवारी चलाउनुपर्ने बाध्यता रहेको बताइएको छ । 

वर्षाको समयमा त झन दुर्घटनाको जोखिम बढाएको चालक विरेन्द्रसिंह नायकले बताए । 

उनले भने, “पहाडको सडकमा गाडी चलाउन धेरै अप्ठ्यारो छ । बर्षातको समयमा त झन समस्या हुन्छ । सवारी चाप र साँघुरो सडक, त्यसमा पनि खाल्टा–खुल्टी र भत्केको हुँदा दुर्घटनाको जोखीम छ । साइड दिन पनि अप्ठ्यारो छ । दैनिक जसो दुर्घटना भइरहेका हुन्छन् । खराब र साँघुरो सडकका कारणले हो ।’’

वर्षौं पहिले बनेका पहाडि राजमार्गहरुमा सवारी चाप उतिक्कै बढेका छन् । सरकारले वर्षातको समयमा आउने पहिरो पन्छाउने तथा सामान्य टुटेफुटेका सडकको मर्मत त गर्ने गरेको छ तर साँघुँरा सडकलाई चौडा बनाउने योजना भने छैन्। 

वर्षातको समयमा आउने पहिरोका कारण अबरुद्ध सडकहरुलाई तुरुन्तै पहिरो पञ्छाएर सडक सञ्चालनमा ल्याउने गरिएको सडक डिभिजन कार्यालय बैतडीका प्रमुख मुकुन्द प्रसाद लामिछानेले बताए । 

उनले भने, “वर्षातका कारण पहिरो आएको छ भने तुरुन्तै सफा गरिन्छ । सडकमा भत्किएका दायाँ–बायाँका संरचना तथा भित्ताहरु र्मर्मत गरिन्छ । तर आर्थिक अभावका कारण अहिले सडक चौडा गर्न सक्ने अवस्था छैन् ।’’

सडकमा परेका खाल्टा–खुल्टी पुर्ने तथा बिग्रे भत्केका सडकको मर्मत गरिने भएपनि बजेट अभावका कारण सडकको चौडाइ बढाउने कार्यमा समस्या भइरहेको उनको भनाइ छ । 

साघुँरा सडक जताततै खाल्टा–खुल्टी तथा भत्कीएको र सवारी चाप पनि बढ्दा दुर्घटनाको जोखीम बढेको छ । 

सरकारले साँघुरा सडकलाई चौडा र खाल्टा–खुल्टी तथा भत्केका सडकको निर्माण गरिदिए सवारी सञ्चालनमा सहज हुने तथा दुर्घटनाको जोखिम पनि कम हुने बताइएको छ ।

प्रतिक्रिया