२०८१ असोज ०४ गते शुक्रबार
ट्रेन्डिङ

बैतडीका प्रदेश सांसद पालको प्रश्न : सरकार बैतडी र दार्चुलाप्रति अनुदार किन ?

SansherOnline SansherOnline
आइतबार २८, जेठ २०८० ०३:१७
बैतडीका प्रदेश सांसद पालको प्रश्न : सरकार बैतडी र दार्चुलाप्रति अनुदार किन ?

 

कञ्चनपुर: बैतडीका प्रदेशसभा सांसद सुरेन्द्र पालले सरकार बैतडी र दार्चुलाका पर्यटकीय सम्भावनाप्रति बेखबर देखिएको र आव २०८०/०८१ को नीति तथा कार्यक्रममा ती विषय नसमेटिएको बताएका छन्।

नीति तथा कार्यक्रमको बुँदा नं. ५२ मा मुख्यमन्त्री एकीकृत पर्यटन विकास कार्यक्रमबारे उल्लेख गरिएपनि त्यसमा बैतडी र दार्चुलाका पर्यटकीय क्षेत्रहरु नसमेटिएको सांसद पालले बताए। एमालेका तर्फबाट बैतडीको प्रदेशसभा (क) मा विजयी सांसद पालले नीति तथा कार्यक्रमबारे आज प्रदेशसभामा आफ्नो धारणा व्यक्त गर्दै सल्लाह, सुझाव पनि दिएका छन्।

‘खप्तड, बडिमालिका, रामारोशन, चिसापानी, राजकाडा शुक्लाफाँटा पर्शुराम धाम, घोडाघोडी, बेहडाबाबा, अपि शैपाल लगायत पर्यटनका सम्भावना भएका क्षेत्रको एकीकृत विकास गर्ने भनिएको छ तर सुदूरपश्चिमको दोस्रो उचाईमा रहेको बैतडीकै अग्लो शिखर सिगास धुरा, रौला केदार, डिलाशैनी भगवती, पनेरुकोट र प्रमुख धार्मिक स्थल त्रिपूरा सुन्दरीलाई समेटिएको छैन।’

सांसद पालले दार्चुलाको मालिकार्जुन, क्षेत्ती, घाजिर, दार्चुला र बझाङको निकै उचो भागमा रहेको सुर्मा सरोबर जस्ता अनेकन स्थान पर्यटन विकासको पर्खाइमा रहेका अति महत्व बोकेका ठाउँहरु रहेको बताए। ‘यस्तो बिशेष महत्व बोकेको समृद्धिको आधार निर्माण हुन सक्ने पर्यटनको अथाह सम्भावना बोकेको क्षेत्रलाई छुटाउनु सरकारको त्रुटि हो। यो बिषयप्रति सरकारको ध्यानाकर्षण गराउन चाहन्छु।’

सांसद पालले ‘पर्यटन पुर्बाधार, समृद्ध प्रदेशको आधार’ भन्ने नारा निकै राम्रो भएपनि कार्यान्वयनमा ध्यान दिनुपर्ने बताए।
बैतडी पाटनको सकार गाउँमा बसोबास गर्ने भट्टराईहरुको घरमा अहिले पनि पुराना ताम्रपत्र, सवाईहरु सुरक्षित रहेको बताउदै सांसद पालले त्यस्तो ऐतिहासिक महत्वका गाउँका सबै घरहरु प्राचिन वास्तुकलाको नमूना झल्किने खालको निर्माण गर्न प्रदेश सरकारले विशेष हौसला प्रदान गर्नुपर्ने बताए।

‘पुराना शैलीका खोलादेली, कपाट शैली र बार्दलीवाला घरहरू निर्माण गरी प्रदेशकै नमूना गाउँ निर्माण गर्न र पर्यटकीय आकर्षणको मुख्य गन्तव्यका रुपमा विकास गर्न प्रदेश सरकार जुटनुपर्छ,’ उनले भने, ‘यसको लागि पनि सरकारको ध्यानाकर्षण गराउन चाहन्छु।’

प्रतिक्रिया