२०८० चैत १६ गते शुक्रबार
ट्रेन्डिङ

डडेल्धुरा अस्पतालका अध्यक्ष ओझाद्वारा पदभार ग्रहण, भन्छन् अब झनै कडा भएर काम गर्छु

SansherOnline SansherOnline
सोमबार ०८, जेठ २०८० ०८:४६
डडेल्धुरा अस्पतालका अध्यक्ष ओझाद्वारा पदभार ग्रहण, भन्छन् अब झनै कडा भएर काम गर्छु

 

डडेल्धुरा : दोस्रो कार्यकालका लागि डडेल्धुरा अस्पताल विकास समितिको अध्यक्षमा नियुक्त भएका करुणाकर ओझाले पदभार ग्रहण गरेका छन् । स्वास्थ्य मन्त्रीस्तरको निर्णयले अध्यक्षमा नियुक्त भएका ओझाले आज पदभार ग्रहण गरेका हुन् । यस्तै अस्पताल विकास समितिको सदस्यमा नियुक्त देवकी भट्ट र जनकबहादुर मल्लले पनि पदभार ग्रहण गरेका छन् ।

अस्पतालले आयोजना गरेको स्वागत तथा पदभार ग्रहण कार्यक्रममा बोल्दै अध्यक्ष ओझाले नागरिकलाई सर्वसुलभ स्वास्थ्य सेवा प्रदान गर्न सक्रिय भएर लाग्ने बताए । ‘मेरो पहिलो कार्यकालमा पनि धेरै काम भएका थिए,’ उनले भने, ‘केही अधुरा कामलाई पूर्णता दिनका लागि पनि म दोस्रो कार्यकालका लागि आएको हँु । अब डडेल्धुरा अस्पतालबाट सर्वसुलभ स्वास्थ्य सेवा प्रदान गर्न केन्द्रित हुन्छु ।’

पहिलो कार्यकालको अवधिमा कोरोना भाइरसको सक्रमणले परिस्थिति विसम भए पनि थुप्रै काम गरेको उनले बताए । ‘अहिलेको कार्यकाललाई मैले अवसर र चुनौतीका रुपमा लिएको छु,’ उनले थपे, ‘सुरुवातमा म प्रशासनिक अवस्था सुधार गर्नमा लाग्छु ।’ उनले संघीय अस्पताल भए पनि अहिले क्षेत्रीय अस्पतालकै दरबन्दीमा सञ्चालन भइरहेको बताउँदै अध्यक्ष ओझाले ५ सय शय्याको अस्पताल सञ्चालन गर्न र सोहीअनुसारको दरबन्दी स्वीकृत गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको बताए ।

यसअघि वैशाख १७ गतको प्रधानमन्त्रीस्तरीय निर्णयअनुसार वैशाख २६ गते अस्पतालको अध्यक्षमा लक्ष्मण सिंहलाई नियुक्त गरिएको थियो । सिंहले आफ्नो कार्ययोजना सार्वजनिक गर्दै पदभार ग्रहण पनि गरेका थिए । तर ३ गतेको मन्त्रीस्तरीय निर्णयले उनको नियुत्तिलाई बदर गर्दै ओझालाई अध्यक्षमा नियुक्त गरेको हो । यसअघि पनि अस्पताल विकास समितिको अध्यक्ष ओझा नै थिए ।

प्रतिक्रिया