२०८१ बैशाख १३ गते बिहिबार
ट्रेन्डिङ

पञ्चेश्वरका स्वास्थ्य संयोजकले सञ्चालन गरेको, अबैधानिक क्लिनिक सिल

SansherOnline SansherOnline
बिहिबार ०४, जेठ २०८० ०८:२६
पञ्चेश्वरका स्वास्थ्य संयोजकले सञ्चालन गरेको, अबैधानिक क्लिनिक सिल

बैतडी : बैतडीको पञ्चृश्वर गाउँपालिकाका स्वास्थ्य संयोजक राम सागर शाहले सञ्चालन गरेको क्लिनिक सिल गरिएको छ । गाउँपालिकाका प्रतिनिधि र प्रशासनको राहोबरमा उक्त क्लिनिक सिल गरिएको प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिए । नियम विपरित सञ्चालनमा रहेको उक्त क्लिनिक सिल गरिएको उनले बताए । 

पञ्चेश्वर गाउँपालिकाका स्वास्थ्य संयोजक राम सागर शाहले अवैधानिक रुपमा क्लिनिक चलाउँदै आएका थिए । यतिमात्रै होइन क्लिनिकमा गैर स्वास्थ्यकर्मीले बिरामी जाँच गर्ने देखि औषधी समेत विक्रि गर्ने गरेको पाइएको थियो । स्वास्थ्य शाखा प्रमुख शाहकै श्रीमती श्यामा शाहले औषधी बिक्री गर्नेदेखि बिरामी समेत जाँच्ने गरेको पाइएको हो । उहाँ मेडिकल सञ्चालन सम्बन्धी कुनै शिक्षा हासिल नगरेकी गैर चिकित्सा व्यक्ति हुन् । तर नीति नियमको धज्जी उडाउँदै शाहले वर्षौँदेखि निजी क्लिनिक सञ्चालन गरिरहेको पाइएको हो । यतिमात्रै होइन गैर चिकित्सा व्यक्तिले बिरामी जाँच देखि औषधी बिक्री गरी जनस्वास्थ्यमाथि गम्भिर लापरवाही गरिरहेको पाइएको हो ।

यसअघि पनि गाउँपालिकामा उक्त क्लिनिकबारेमा छानबिनको गर्न माग गर्दै निवेदन समेत परेको थियो । त्यसबेला पनि पालिकाले गरेको छानविनमा उक्त क्लिनिक गैरकानुनीरूपमा सञ्चालन रहेको भेटिएको थियो । तर उक्त क्लिनिक सञ्चालनमै रहिरह्यो । स्वास्थ्य शाखा प्रमुख शाहले भने सिएमए सङ्घबाट अनुमति लिएर क्लिनिक सञ्चालन गरेको बताउँछन् । तर सिएमए संघ क्लिनिक सञ्चालन गर्न अनुमति दिने निकाय नै होइन । 

सम्बन्धित स्थानीय तहले मापदण्ड बनाएर क्लिनिक सञ्चालनको अनुमति दिने गर्दछ । त्यसमा पनि क्लिनिकमा आवश्यक पर्ने पूर्वाधार, जनशक्ति, उपकरणको उपलब्धता लगायत धेरै प्रक्रिया पुर्याएर मात्रै अनुमति पाउने स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेश प्रशाद भट्टले बताए ।  
प्रमुख जिल्ला अधिकारीको नेत्तृत्वमा पञ्चेश्वरमा बजार समेत अनुगमन गरिएको थियो । 

प्रतिक्रिया