बैतडी: बैतडीका सिडिओको पहलमा मजदुरले ज्याला पाएका छन् । प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीको पहलमा दुई वर्ष पछि महिला मजदुरहरुले काम गरे बाफतको ज्याला पाएका हुन् ।
गएको शनिबार अर्थात ३० गते बैतडीका प्रमुख जिल्ला अधिकारीको टोली रामपाताल भन्ने स्थानमा ऐँसेलु खान गएको थियो। उक्त टोलीमा सिडियो सुरेश पन्थीसहित डिएसपी प्रेम शाही लगायतका व्यक्ति थिए।
त्यहाँ उनीहरुको भेट केही मजदुर महिलासँग भयो। दशरथचन्द नगरपालिका-४ मा पर्ने उक्त स्थानमा रहेका ती महिलाहरुसँग कुराकानी गर्दा उनीहरुले एउटा गुनासो गरे।
‘कुराकानी गर्दा महिलाहरुले आफूहरुले दुई वर्षदेखि गिट्टी कुटेको ज्याला नपाएको गुनासो गरेका रहेछन्’ जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी शंकर बोहराले भने, ‘त्यसपछि ठेकेदारसँग कुरा गरेर महिलाहरुलाई ज्याला प्रदान गरिएको छ।’
प्रजिअ पन्थीले दुई वर्षपछि तीन जना महिला कामदारले काम गरेबाफतको १ लाख ज्याला दिलाएका हुन्। सम्बन्धित निर्माण व्यवसायीसँग कुरा गरेपछि आइतबार उनीहरुलाई पारिश्रमिक उपलब्ध गराइएको सूचना अधिकारी बोहराले बताए। ज्याला पाउँदा महिलाहरु पनि खुसी भएका छन्।
प्रतिक्रिया