बैतडी : सुदूरपश्चिमकै प्रसिद्ध उग्रतारा मन्दिरमा चोरी भएको छ । अमरगढी नगरपालिका वडा नम्बर ८ मा रहेको मन्दिरमा चोरी भएको हो । जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार आज बिहान साढे १ बजे चोरी भएको हो । कार्यालयका प्रमुख प्रहरी नायक उपरीक्षक मनोहरप्रसाद भट्टका अनुसार चाँदीको माला, चाँदीको मुकुट लगायतका सामान चोरी भएको छ । उनले चोरीको खबर प्राप्त भएपछि प्रहरी टोली पठाइएको बताए ।
डिएसपी भट्ट पनि उग्रतारा मन्दिर पुगेका थिए । उग्रतारा क्षेत्र विकास समितिका अध्यक्ष तेजबहादुर साकीले चाँदीका पुजाका सामान चोरी भएको बताए । मन्दिरमा सिसी क्यामेरा पनि जडान गरिएको छ । सिसी क्यामेरा पूर्ण रुपमा सञ्चालनमा भने नरहेको प्रहरीले जनाएको छ ।
उग्रतारा मन्दिरलाई नेपालको सूदूरपश्चिमका ९ भगवतीका मन्दिरमा एक मन्दिर मानिन्छ । उग्रतारा भगवती मन्दिर प्यागोडा शैलीमा निर्मित छ । उग्रतारा मन्दिरको उत्पत्तिका सम्बन्धमा प्रामाणिक आधारमा कुनै शिलालेख भने अहिलेसम्म भेटिएको छैन । डडेल्धुराको अमरगढी नगरपालिका–८ मा पर्ने प्रसिद्ध यो मन्दिर सदरमुकामबाट करिब ५ किलोमिटर टाढा डडेल्धुरा–बैतडी जोड्ने महाकाली राजमार्गको पश्चिमपट्टिको अग्लो विशाल तथा रमणीय फाँटमा अवस्थित छ ।
प्रतिक्रिया