२०८१ असोज ०४ गते शुक्रबार
ट्रेन्डिङ

दार्चुलामा नेपाली नागरिक र भारतीय प्रहरीबीच ढुङ्गा हानाहान

SansherOnline SansherOnline
शनिबार ३०, बैशाख २०८० १०:५८
दार्चुलामा नेपाली नागरिक र भारतीय प्रहरीबीच ढुङ्गा हानाहान

 

दार्चुला : शुक्रबार दार्चुलाको नेपाल-भारत सीमा क्षेत्रमा ढुङ्गा हानाहान भएको छ। भारतले सीमा नदी महाकाली नदी किनारमा निर्माण गरिरहेको पक्की तटबन्धको विषयलाई लिएर ढुङ्गा हानाहान भएको थियो।

महाकाली नगरपालिका–१ का स्थानीय र भारतीय प्रहरीबीच सीमाको विषयलाई लिएर विवाद बढेपछि ढुङ्गा हानाहानको स्थिति सिर्जना भएको हो।

भारतीय पक्षले महाकाली नगरपालिका–४ बंगाबगरको पारी खोतिला क्षेत्रमा नदी किनारमा पक्की तटबन्ध निर्माण गरिरहेको छ। तटबन्ध निर्माणको क्रममा भारतीय पक्षले महाकाली नदीको नेपालतर्फको सीमामा आएर निर्माण सामाग्री निकाली रहेका बेला नेपाली नागरिकले रोक्न खोज्दा भारतीय र नेपाली नागरीकबीच ढुङ्गा हानाहान भएको स्थानीयले बताएका छन्।

भारतीय पक्षले सीमा नदी महाकाली नदीको बिच भागमा आएर निर्माण सामाग्री निकाली रहेको तथा नदीको धार परिवर्तन हुने गरी भइरहेको यस्तो गतिविधि रोक्न नेपाली नागरिकले सुरुमा आग्रह गरेका थिए।

नेपाली नागरिकले गरेको आग्रहको बेवास्ता गर्दै भारतीय प्रहरीले कामलाई निरन्तरता दिन स्काईभेटर चालकलाई भनेको स्थानीयहरुले बताएका छन्। ‘मैले भारतीय पक्षलाई काम तत्काल रोक्न र आफ्नै भू–भागमा गएर काम गर्न भने, भारतीय प्रहरीले काम नही रुकेगा क्या करलोगे भने अनि ढुंगा हानाहानको अवस्थाको सिर्जना भयो,’ महाकाली नगरपालिका–१ का स्थानीयले भने, ‘भारतीय दादागिरी सहन नसकेपछि सुरुमा मैले नै ढुङ्गा हानेको हुँ।’

नेपाली नागरिकले ढुंगा हानेपछि साइडमा खटीएका भारतीय प्रहरीले पनि नेपाली नागरिक माथि ढुङ्गा प्रहार गरेका थिए। केही बेर चलेको दुई देशका नागरिकबीचको ढुङ्गा हानाहानपछि नेपाली सुरक्षाकर्मी खटिएका थिए।

भारतीय पक्षले महाकाली नदीमा मनोमानी गर्दा नेपाल र भारतका स्थानीयहरु बिच बेला बेलामा ढुङ्गा हानाहान हुने गरे पनि नेपाल सरकार भने मौन बस्दै आएको छ। अहिले बाङ्गाबगरको महाकाली तटबन्ध क्षेत्रमा स्थिति थप जटिल नहोस् भनेर  सशस्त्र प्रहरी खटाइएको प्रमुख जिल्ला अधिकारी किरण जोशीले बताए।

प्रतिक्रिया