२०८१ असोज ०४ गते शुक्रबार
ट्रेन्डिङ

हिउँदे बर्षा नहुँदा डढेलोको जोखिम बढ्यो, अहिले बैतडीका ३ ठाउमा आगलागी

SansherOnline SansherOnline
शनिबार ३०, बैशाख २०८० ०७:१८
हिउँदे बर्षा नहुँदा डढेलोको जोखिम बढ्यो, अहिले बैतडीका ३ ठाउमा आगलागी

बैतडी : हिउँदे बर्षा र हिमपात नहुँदा डढेलोको जोखिम बढ्दै गएको छ । यो बर्ष सुख्खापन बढेका कारण वनहरुमा डढेलाको जोखिम बढेको डिभिजन वन कार्यालय बैतडीका प्रमुख भीमप्रसाद कँडेलले बताए ।

सामुदायिक तथा राष्ट्रिय वनहरुमा यो बर्ष अन्य बर्षको तुलनामा डढेलोको जोखिम बढी भएको उनले बताए । लामो समय सम्म पानी नपर्दा सुख्खापन बढेका कारण डढेलोको जोखिम बढ्दै गएको छ । डढेलोका कारण लाखौंका वनसम्पदा, वन्यजन्तु नष्ट हुने भएपनि डढेलो नियन्त्रणका बिषयमा समुदायस्तरमा जनचेतनाको कमी रहेको कँडेलले बताए ।

सामुदायिक वनहरुको कार्ययोजनामा वन डढेलो कसरी नियन्त्रण गर्ने भन्ने कुरा उल्लेख भएपनि त्यसको कार्यान्वयन भने हुन नसकेको कँडेलले बताए । उनले भने ‘सामुदायिक वनहरुले आफ्नो कार्ययोजना अनुसार काम गरेमा डढेलो नियन्त्रण गर्न सकिन्छ । तर सामुदायिक वनहरु पनि निष्क्रिय जस्तै देखिएका छन् ।’

 बैतडीमा वनजंगलमा डढेलो लागेमा घाँस पलाउँछ भन्ने गलत मान्यता रहेकाले यसले पनि डढेलोको जोखिम बढ्दै गएको कँडेलले बताए । उनले भने ‘वनमा घाँस पलाउँछ भन्ने गलत मान्यता कारणले पनि डढेलो लाग्ने गरेको छ ।’ बैतडीमा अधिकांश सल्लेरी वन रहेकाले सल्लेरी वनहरुमा डढेलोको जोखिम झन् बढी रहेको उनले बताए । सल्लेरी वनहरुमा डढेलोको जोखिम बढी हुने गरेको छ ।

अहिले बैतडीका ३ भन्दा बढी सामुदायिक वनमा डढेलो लागेको छ। लगातारको खडेरीका कारण सामुदायिक वनमा डढेलो लागेको हो। सुख्खापनका कारण वनजंगलमा डढेलो लागेको डिभिजन वन कार्यालय बैतडीले जनाएको छ। 

जिल्लामा ३६९ ओटा सामुदायिक वनहरु रहेका भएपनि सक्रिय नहुँदा वन डढेलो नियन्त्रणमा समस्या भएको छ । हरेक बर्ष डढेलोले वनसम्पदा नष्ट हुने गरेकोमा यो बर्ष सुख्खापन भएकाले डढेलोको जोखिम बढ्दै गएको बताइएको छ ।  

प्रतिक्रिया