बैतडी : बैतडीको दशरथचन्द नगरपालिकाले वैदेशिक रोजगारी जान चाहने व्यक्तिहरुलाई श्रम स्वीकृति दिने कार्य सुरु गरेको छ । यसअघि श्रम मन्त्रालयबाट मात्रै दिइने गरेको श्रम स्वीकृति अब स्थानीय तहबाटै प्रदान गर्न सकिने भएपछि दशरथचन्द नगरपालिकाले श्रम स्वीकृती दिन थालेको हो ।
सरकारले गएको चैत १६ गते वैशाख १ गतेदेखि लागू हुने गरेर स्थानीय तहहरुको रोजगार शाखामार्फत श्रम स्वीकृति दिन सक्ने निर्णय गरेको थियो ।
सोही निर्णयका आधारमा दशरथचन्द नगरपालिकाले आज पहिलो पटक कतार जान इच्छुक दशरथचन्द नगरपालिका–६का कोमलराम महरलाई श्रम स्वीकृति प्रदान गरेको नगरपालिकाका सुचना अधिकारी राजेन्द्र बिष्टले बताए । उनलाई नगरप्रमुख पुस्कर राज जोशीले श्रम स्वीकृति हस्तान्तरण गरेका हुन् ।
नगरपालिकामै श्रम स्वीकृति पाएपछि निकै सहजता भएको महरले बताए । बिना झण्झट कम खर्चमा घरदैलोको सरकारले श्रम स्वीकृति प्रदान गर्दा खुसी लागेको उनले बताए ।
वैदेशिक रोजगारीलाई व्यवस्थित र मार्यादिन बनाउनका लागि स्थानीय तहबाट श्रम स्वीकृति दिने कार्य महत्वपूर्ण रहेको नगर प्रमुख जोशीले बताए ।
प्रतिक्रिया