बैतडी : बैतडीको मेलौली नगरपालिका १ बासीले १५ शैयाको अस्पताल निर्माणको प्रक्रिया अघि बढाउन पुनः माग गरेका छन् । चालु आर्थिक वर्षमा बजेट व्यवसथापन भई टेण्डर समेत खोल्ने अक्तियारी पाएको नगरपालिकाले टेण्डर खोल्न ढिलाइ गरेको भन्दै अस्पताल निर्माण प्रक्रियामा ढिलाइ नगर्न माग गर्दै ज्ञापन पत्र पेश गरेका हुन् ।
मेलौली नगरपालिका १ को बिठ्ठेनामा अस्पताल निर्माणको लागि जग्गा दान भई आवस्यक प्रक्रिया समेत अन्तिम चरणमा पुगेका बेला नगरपालिकाले टेण्डर खोल्न ढिलाइ गरेको ज्ञापन पत्रमा उल्लेख छ । स्वास्थ्य जस्तो सम्बेदनसिल विषयमा नगरपालिकाले गम्भिरतापूर्वक चासो राख्न समेत माग गरिएको छ ।
मेलौली अस्पतालको विषयमा दुई ठाउँमा जग्गा उपलब्ध गराएपछि निर्माण प्रक्रियामा ठोस प्रगति हुन सकेको छैन । साविकको केशरपुर स्वास्थ्य केन्द आसपासमा समेत जग्गा दान भइसकेको छ ।
केशरपुर स्वास्थ्य केन्द्रको स्तरवृद्धिको योजना रहेकाले केशरपुर स्वास्थ्य केन्द आसपासमै १५ शैयाको अस्पताल बन्नुपर्ने वडा नं ७ बासीको माग रहेको छ ।
सुरुमा वडा नं १ बासीले जग्गादान गरेका थिए । त्यसपछि वडा नं ७ बासीले समेत जग्गा दान गरेका थिए ।
दुबै क्षेत्रबाट जग्गा दान भइसकेको र दुबै क्षेत्रका स्थानीयहरुले आ–आफ्नै क्षेत्रमा अस्पताल बनाउन माग गरीरहेकाले हालसम्म अस्पताल निर्माण प्रक्रिया अघि बढेको छैन ।
चालु आर्थिक वर्षको सुरुवातामा बिठ्ठेनामा अस्पतल निर्माणको लागि ठेक्का खोल्न भन्दै स्वास्थ्य मन्त्रालयबाट पत्र जारी भएको थियो । तर नगरपालिकाले टेण्डर खोलको छैन ।
प्रतिक्रिया