बैतडी : बैतडीको पाटनमा गिट्टीको थुप्रोभित्र सात दिनअघि एक व्यक्तिको टाउको भेट्टिए पनि उनको पहिचान भने खुल्न सकेको छैन। उक्त टाउको कुकुरले बोकेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।
सडक निर्माणका लागि पाटन नगरपालिका–६ तल्लो बजारमा ल्याएको गिट्टीको थुप्रोमा टाउको भेट्टिएको थियो।
टाउकोलाई परीक्षणका लागि जिल्ला अस्पताल लेयपनि तर अझै रिपोर्ट नआएको प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए।
सुर्नया गाउँपालिकाको बाचपानीबाट ल्याएको गिट्टीमा मानिसको टाउको भेटिएको थियो। “टाउको फेला परेपछि कसको हो भनेर पहिचान गर्न अस्पताल लेयका छौँ। अस्पतालको रिपोर्टपछि सबै कुरा खुल्छ” प्रहरी निरीक्षक जोशीले भने।
टाउकोको डिएनए परीक्षणका लागि काठमाडौँस्थित प्रहरीको विधि विज्ञान प्रयोगशाला पठाइने उनले बताए। जिल्ला अस्पतालको रिपोर्ट आएपछि टाउकोको नमूना सङ्कलन गर्ने र परीक्षणका लागि विधि विज्ञान प्रयोगशाला पठाउने प्रहरी निरीक्षक जोशीको भनाई छ।
घट्नाबारे अनुसन्धान कार्य जारी छ। गिट्टी ल्याइएको भनिएको बाचपानी क्षेत्रमा अनुसन्धानलाई केन्द्रित गरिएको छ।
बाचपानी वरपरका क्षेत्रका कुनै मानिस हराएका थिए कि भनेर सोधपुछ भइरहेको छ। गिट्टी ल्याएको स्थानमा शरीरको अन्य भाग पनि मिल्छ कि भनेर खोजी रहेको प्रहरी निरीक्षक जोशीले बताए।
यो पनि
प्रतिक्रिया