बैतडी : बैतडीका स्थानीय तहमा ‘हाकिम’नहुँदा कामकाज गर्न समस्या भएको छ । बैतडीको पाटन नगरपालिकामा ‘हाकिम’नहुँदा कामकाज गर्न समस्या भएको हो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमप्रसाद पाण्डे एक महिना नपुग्दै सरुवा भएपछि नगरपालिका हाकिम विहिन भएको हो ।
चालु आर्थिक बर्ष अन्तिमतिर भएपनि पालिकामा ‘हाकिम’कै अभाव छ । पालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा विकास निर्माणका कामदेखि लिएर अन्य कामहरु ठप्प भएका छन् ।
जिल्लाको पुर्चौंडी नगरपालिका तीन महिनादेखि हामिक विहिन भएको छ । तीन महिना सम्म नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा आर्थिक कारोबारका सबै काम रोकिएका छन् ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बीरबहादुर नेपाली जनप्रतिनिधिहरुसंगको खटपटपछि कार्यालयमा आएका छैनन् । नगरपालिकामा अब भानुभक्त भट्ट नयाँ प्रमुख प्रशासकीय अधिकृतको रुपमा आउन लागेका नगरपालिकाका प्रमुख दीपकबहादुर बमले बताए । उनले भने ‘अब नगरपालिकाको काम अघि बढ्छ । हाकिम नहुँदा समस्या थियो । अब यो समस्या समाधान भइसकेको छ ।’
यता सिगास गाउँपालिकामा पनि प्रमुख प्रशासकीय अधिकृत नहुँदा समस्या भएको थियो अब सिगास गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी घनश्याम बोहरा लाइ दिइएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सिगास गाउँपालिकाका स्वास्थ्य संयोजक समेत रहेका बोहरा लाइ प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएको छ । प्रमुख प्रशासकीय अधिकृत हाजिर नभए सम्मका लागि आर्थिक तथा प्रशासनीक कार्यका लागि वैशाख १४ गतेको निर्णय अनुसार जिम्मेवारी दिइएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सूचना मार्फत जनाएको छ ।
प्रमुख प्रशासकीय अधिकृत नभएका पालिकाहरुमा भुक्तानीका कामहरु रोकिएका छन् भने सामाजिक सुरक्षाभत्ता, कर्मचारीको तलब लगायतका सबै भुक्तानीहरु रोकिएका छन् ।
प्रतिक्रिया