बैतडी : जिल्ला प्रशासन कार्यालय बैतडीले मिटर ब्याज पीडितहरूलाई उजुरी दर्ताको लागि आह्वान गरेको छ। एक सूचना जारी गर्दै तथ्य प्रमाणसहित पीडितहरूलाई मिटरब्याजीविरुद्ध उजुरी दर्ताका लागि आह्वान गरेको हो।
नेपाल सरकारले जाँचबुझ आयोग समेत गठन गरिसकेको अवस्थामा मिटरब्याजीहरुले निरक्षर, गरिब तथा आर्थिक रूपले अप्ठ्यारो परिस्थितिमा रहेका व्यक्तिहरूमाथि परिस्थितिको लाभ उठाउँदै गरेको शोषणको शृङ्खलाले सयौँ परिवारको बिचल्ली भएका समाचारहरू प्रकाशन भइरहेको परिपेक्षमा मिटर ब्याज पीडितहरुलाई उजुरी दिन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले बताए । भए सम्मका सबुद प्रमाण संलग्न गरेर आवेदन दिन प्रशासन कार्यालयले आग्रह गरेको हो ।
जिल्ला प्रशासन कार्यालयमा स्थापना गरिएको सहायता कक्षबाट निवेदन फारम निशुल्क रुपमा उपलब्ध गराइने समेत उल्लेख गरिएको छ । वैशाख १७ गतेदेखि १५ दिनभित्र पीडितहरुलाई निवेदन दिन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी पन्थीले बताए ।
मिटर ब्याज पीडितहरुले अनलाइनबाट समेत निवेदन दिन सक्ने व्यवस्था मिलाइएको छ ।
प्रतिक्रिया