बैतडी : बैतडीको सिगास गाउँपालिका–१ का २२ वर्षीय युवकलाई प्रहरीले बलात्कार आरोपमा पक्राउ गरेको छ । गाउँकै भतिजी नाता पर्ने १५ वर्षीया बालिकामाथि बलात्कारको आरोपमा ती २२ वर्षीय युवकलाई प्रहरीले पक्राउ गरेको हो ।
चैत २९ गते पीडित पक्षले निवेदन दिएको र भोलिपल्ट आरोपित युवकलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख, प्रहरी निरीक्षक कमल प्रशाद चौधरीले जानकारी दिए । घटना पुस १५ गते राती भएको बुझिएको छ । बालिकाका बुवा रोजगारीको सिलसिलामा भारत रहेका र भारतबाट घर आएर प्रहरीमा निवेदन दिएको बताइएको छ ।
पिडित बालिकाको पनि परिचय खुल्नसक्ने भएकाले आरोपित युवकको परिचय पनि प्रहरीले गोप्य राखेको छ ।
पीडित बालिकाका आफन्तले घटनालाई आर्थिक प्रलोभन देखाई ढाकछोप गर्न खोजेको र न्यायलाई प्रभावित गर्न खोजेको आशंका व्यक्त गरेका छन् । बलात्कार आरोपितको तर्फबाट घटनालाई प्रभावित गर्न खोजिएको बताउँदै पीडितका आफन्तले पीडितले न्यान नपाएको अवस्थामा पुनरावेदन समेत जाने चेतावनी दिएका छन् । पीडितका आफन्तले निष्पक्ष छानबिनको माग गरेका छन् ।
यता प्रहरीले भने निष्पक्ष अनुसन्धान भइरहेको दाबी गरेको छ । अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख, प्रहरी निरीक्षक चौधरीले बताए ।
बालिकामाथि भएको उक्त घटनाप्रति ध्यानाकर्षण भएको भन्दै महिला अधिकारकर्मीले पनि निष्पक्ष अनुसन्धान हुनुपर्ने माग गरेका छन् ।
प्रतिक्रिया