२०८१ असोज ०४ गते शुक्रबार
ट्रेन्डिङ

बैतडीका पसलहरुमा अखाद्य सामग्री, स्थानीयतह अनुगमनमा चासो देखाउदैन

SansherOnline SansherOnline
बुधबार १३, बैशाख २०८० १२:५४
बैतडीका पसलहरुमा अखाद्य सामग्री, स्थानीयतह अनुगमनमा चासो देखाउदैन

बैतडी : बैतडीका पसलहरुमा अखाद्य म्याद नाघेका सामग्री विक्रि वितरण हुने गरेको छ । बजार अनुगमनमा स्थानीय सरकारहरुले ध्यान दिन नसक्दा पसलहरुबाट त्यस्ता सामग्री विक्रि हुने क्रम रोकिएको छैन् । जिल्लाका अधिकांश पालिकाहरुले आफ्नो क्षेत्राधिकार भित्र पर्ने स्थानीय बजारहरुको अनुगमन नगरेको पाइएको छ । 

जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा रहेको संयुक्त बजार अनुगमन टोलीले बजार अनुगमन गर्दा प्रत्येक बजारका पसलहरुमा अखाद्य सामग्री भेटिने गरेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शंकरबहादुर बोहराले बताए । उनले भने ‘प्रशासन कार्यालयमा पनि कर्मचारीको अभावमा नियमित अनुगमन गर्न सकिएको छैन् । शनिबारको समय मिलाएर अनुगमन गर्नुपरीरहेको छ । हामीले अनुगमन गरेका ठाउँका पसलहरुमा म्याद नाघेका सामग्री फेला पार्ने गरेका छौं ।’

शनिबार मात्रै जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा रहेको संयुक्त बजार अनुगमन टोलीले डिलाशैनी गाउँपालिका वडा नं ५ र ६ मा रहेका बजारहरुको अनुगमन गरेको सूचना अधिकारी बोहराले बताए । डिलाशैनीका २१ ओटा पसलहरुमा अनुगमन गर्दा २४ हजार ६२४ बराबरको म्याद नाघेको सामग्री बरामद गरी नष्ट गरिएको उनले बताए । 

म्याद नाघेका अखाद्य बस्तुहरु बिक्री वितरण गर्ने, नविकरण नगर्ने र दर्ता नगरी सञ्चालनमा रहेका ९ पसलबाट ६० हजार असुल गरिएको छ । ६ ओटा पसलहरुबाट ५÷५ हजारका दरले ३० हजार जरिवान असुल गरीएको छ भने बाँकी ३ पसलहरुलाई १०÷१० हजारका दरले ३० हजार जरिवाना गरीएको घरेलु तथा साना उद्योग कार्यालय बैतडीका सूचना अधिकारी लक्षमण कुमार साउँदले जानकारी दिनुभयो ।

खाद्य बस्तु खरिद गर्दा उपभोक्ताहरुले सजक बन्नु पर्ने खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बैतडीका प्रमुख एवं खाद्य अनुसन्धान अधिकृत प्रविण कुमार अधिकारीले बताउनुभयो । बजारबाट खाद्यबस्तु खरिद गर्दा उत्पादन तथा उपभोग्य मिति, उत्पादक कम्पनी लगायतका कुराहरु राम्ररी हेरेर मात्रै खरिद गर्न अधिकारीले आग्रह गर्नुभयो । 

यसअघि पनि पटकपटक बजार अनुगमन क्रममा म्याद नाघेका अखाद्य बस्तु भेटिने गरेका थिए । बजार अनुगमनको अधिकार स्थानीय तहहरुलाई भएपनि पालिकाहरु चासो देखाएका छैनन् । डिलाशैनी गाउँपालिकाका प्रवक्ता यज्ञ भट्टले आगामी दिनमा बजार अनुगमनलाई तिव्रता दिने बताएका छन् । पालिका भित्र ठुलो बजार क्षेत्र नपर्ने भएकाले बजारको अनुगमन नगरीएको र स्थानीय बजारमा सञ्चालनमा रहेका पसलहरुको अनुगमन गरीने बताउनुभयो ।

चाउचाउ बिष्कुट नम्कीन लगायतका तयारी खानेकुराहरु बढी मात्रामा म्याद नाघेको अवस्थामा भेटिने गरेका छन् । ‘मानव स्वास्थ्यका लागि तयारी खानेकुराहरु फाइदाजनक हुदैनन्’ स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रशाद भट्टले भन्नुभयो ‘त्यसमाथी म्याद नाघेका अखाद्य बस्तुहरु सेवनले मानव स्वास्थ्यका हानिकारक हुने गर्दछन्’ । झाडापखालजन्य समस्या निम्तीने तथा पछि गएर दिर्घकालीन समस्या आउन सक्ने जोखीम रहेकाले उपभोक्ता र पसल सञ्चालक दुवैले सजक हुनेपर्ने उहाँले बताउनुभयो । 


 

प्रतिक्रिया