२०८१ असोज ०४ गते शुक्रबार
ट्रेन्डिङ

उग्रतारा–मेलौली सडकको थप १० किलोमिटर कालोपत्रे सुरु

SansherOnline SansherOnline
आइतबार १०, बैशाख २०८० ०७:५७
उग्रतारा–मेलौली सडकको थप १० किलोमिटर कालोपत्रे सुरु

 

बैतडी : उग्रतारा मेलौली सडकअन्तर्गत थप १० किलोमिटर सडक कालोपत्रे सुरु भएको छ । डडेल्धुराको उग्रतारा मन्दिरदेखि बैतडीको पञ्चेश्वर गाउँपालिकासम्म जोड्ने राजमार्गको थप १० किलोमिटर सडक कालोपत्रे गर्ने कार्य सुरु भएको हो । सुदूरपश्चिमको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको पूर्वाधार विकास कार्यालय डडेल्धुराको झण्डै २३ करोड लागतमा कालापत्रे हुन थालेको हो ।

कार्यालय प्रमुख नवराज रावलका अनुसार अजयमेरु गाउँपालिकाको वडा नम्बर १ बयलडाँडादेखि वडा नम्बर २ चमडासम्म कालोपत्रे गर्ने कार्य सुरु भएको हो । ‘केएस कन्ट्रक्सनमार्फत कालोपत्रेको काम भइरहेको छ,’ रावलले भने, ‘चालू आर्थिक वर्षभित्रै सम्पन्न गर्ने गरी सम्झौता भएको छ ।’

यस्तै निर्माणधिन उक्त सडकको सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री प्रकाश देउवाले निरीक्षण गरेका छन् । प्रदेश सचिव प्रेमदत्त भट्ट, पूर्वाधार विकास कार्यालयका प्रमुख रावलसंगै पुगेका मन्त्री देउवाले निर्माणधिन सडकको निरीक्षण गरेका हुन् । सो क्रममा मन्त्री देउवाले सडक निर्माणको कार्य समयमै सम्पन्न गर्न निर्माण व्यवसायीलाई निर्देशन दिएका छन् ।

योजना अनुगमनका क्रममा विभिन्न ठाउँमा ज्ञापनपत्र तथा मागपत्र बुझ्ने कामसँगै जनतासँग अन्तरक्रियासमेत गरिएको छ । आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रिया चलिरहेकाले योजनाको अनुगमन गरी त्यही अनुसारको नयाँ योजना तयार गरिने भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव प्रमेदत्त भट्टले बताए ।

प्रतिक्रिया