बैतडी : हरेक बर्ष शैक्षिक सत्र शुरु भएको दुई तीन महिनापछि मात्रै किताब पाइने भएपनि यो बर्ष समयमै किताब उपलब्ध भएका शिक्षा विकास तथा समन्वय इकाइका बैतडीका सूचना अधिकारी पुष्कर शर्माले बताए ।
जिल्लाका ५६२ ओटै सामुदायिक विद्यालयका लागि ८६ हजार पुस्तक आइपुगेका र विद्यार्थी भर्नासंगै पुस्तक वितरणको काम पनि भइरहेको सूचना अधिकारी शर्माले जानकारी दिए ।
भर्ना अभियान जारी रहेकै बेला पुस्तक पनि पुगेकाले सहज भएको निङ्गलाशैनी मावि देहीमाण्डौंका शिक्षक तिलक बोहराले बताए । यो बर्ष समयमै पुस्तक पुगेकाले सहज भएको उनको भनाइ छ ।
बैतडीका १० ओटै स्थानीय तहमा आवश्यक पाठ्यपुस्तकहरु पुगिसकेका शिक्षा विकास तथा समन्वय इकाइ बैतडीका प्रमुख नरेन्द्रप्रसाद अवस्थीले बताए । सबै पालिकामा रहेका विद्यालयहरुमा पुस्तक पुगिसकेका उनले बताए । उनले भने ‘यो बर्ष समयमै पाठ्यपुस्तक उपलब्ध भएका छन् । यसले गर्दा भर्ना अभियानमा पनि सहजता आएको छ ।’
‘समयमै भर्ना, समयमै ज्ञान, गुणस्तरीय शिक्षा सबैको अभियान’नारासहित भर्ना अभियान सञ्चालनमा रहेको इकाइ प्रमुख अवस्थीले बताए ।
यो बर्ष समयमै पुस्तक उपलब्ध भएपछि अभिभावकहरु पनि खुसी भएका छन् ।
प्रतिक्रिया