बैतडी : बैतडीको सुर्नया गाउँपालिकाले नियम विपरीत अध्यक्ष र उपाध्यक्षको स्वकीय सचिव नियुक्त गरेर तलब भत्ता दिँदै आएको खुलेको छ । गाउँपालिकाले कार्यविधि समेत नबनाएर स्वकीय सचिवलाई तलब भत्ता खुवाइरहेको पाइएको हो ।
संघिय ऐनमा गाउँपालिका अध्यक्षका सल्लाहकारले बढीमा मासीक १८ हजार र उपाध्यक्षका सल्लाहकारले १५ हजार तलब सुबिधा पाउने व्यवस्था रहेको छ । तर सुर्नया गाउँपालिकाले भने कार्यपालिकाबाट निर्णय गरेर नै दोब्बर तलब खुवाइरहेको हो ।
अध्यक्षका सल्लाहकार बिक्रम कुँवरले ३४ हजार र उपाध्यक्षका सल्लाहकार नरेश महराले ३२ हजार पाउने निर्णय गरेको छ । गएको पौष १० अध्यक्ष तथा उपाध्यक्षको निजि सचिवालयमा एक÷एक जना नियुक्त गर्ने र सो तलब सुविधा उपलब्ध गराउने निर्णय गरेको भएपनि तर उनीहरुले गएको साउनदेखि नै तलबभत्ता बुझिरहेका पाइएको हो ।
अध्यक्ष र उपाध्यक्षका सल्लाहकारलाई नियमबिपरीत तलब सुविधा उपलब्ध गराइरहेको पाइएपछि यो बिषयमा गाउँपालिकाको चौतर्फी आलोचना भैरहेको छ । ऐन नियम विपरीत गाउँपालिकाले हचुवाका भरमा नियुक्ती दिएर राज्यकोषको दुरुपयोग भएको भन्दै स्थानीय नागरिक आक्रोशित समेत भएका छन् ।
अध्यक्ष तथा उपाध्यक्षले पाउने सुविधा भन्दा स्वकीय सचिवहरुलाई बढी सुविधा दिइएको भन्दै सुर्नया गाउँपालिकाका जनप्रतिनिधिहरुको चर्को विरोध गरिएको छ । सामाजिक सञ्जालमा समेत पालिकाका जनप्रतिनिधिहरुले गरेको यो कार्यको विरोध गरिएको छ ।
यो बिषयमा गाउँपालिका अध्यक्ष अम्मरबहादुर कुँवरले कार्यविधि नबनाउनु आफूहरुको कमजोरी रहेको स्वीकार्दै तत्कालै यो बिषयमा कानुन सम्मत तरीकाले अघि बढ्ने बताए । कार्यविधि बनाएर यो बिषयमा टुंगो लगाइने उनको भनाइ छ ।
प्रतिक्रिया