बैतडी : दोगडाकेदार गाउँपालिका–८ का ३८ वर्षिय वाशुदेव जोशीको हत्यामा संलग्नको पहिचान भइसकेको छ। गाउँकै एक जना युवाले बाटो ढुकेर शनिबार राति करिब ८ बजेतिर धारिलो हतियारले घाँटी रेटेर जोशीको हत्या गरेको प्रहरीले जनाएको छ।
घर नजिकै घाँटी रेटेर हत्या गरिएको अवस्थामा जोशीको शव फेला परेको थियो। जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख डिएसपी प्रेम बहादुर शाहीले घटनामा संलग्न ब्यक्तिको परिचय खुलिसकेको र खोजिकार्य भइरहेको बताए।
‘घटनास्थलमा एक जना युवालाई देखेको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन्,’ शाहीले भने, ‘घटनापछि ती युवा फरार छन्, हामी खोजी गरिरहेका छौँ।’ बिष्ट थरका ती युवाले बाटो ढुकेर जोशीको हत्या गरेको प्रहरीले जनायो।
हत्या घटनामा अन्य केही जना समेत संलग्न रहेको हुनसक्ने अनुमान प्रहरीको छ। घटना योजनाबद्ध र नियोजित रुपमा भएकाले दोषीमाथि कडा सजायकोे माग आफन्तले गरेका छन्।
मृतक जोशीको शव अहिले जिल्ला अस्पताल बैतडीमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले बताए ।
प्रतिक्रिया