२०८१ असोज ०४ गते शुक्रबार
ट्रेन्डिङ

पुरचौडींका हाकिमले किन हाले मुद्दा ?

SansherOnline SansherOnline
सोमबार २७, चैत २०७९ ०६:३८
पुरचौडींका हाकिमले किन हाले मुद्दा ?

बैतडी : पुरचौडीं नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीरबहादुर नेपालीले नगरपालिका विरुद्ध पाटन उच्च अदालतमा मुद्दा हालेका छन्। काम गर्ने वातावरण विथोलेकाले कामकाज गर्ने वातावरण मिलाउन आदेश माग गर्दै मुद्दा दर्ता गरेका हुन्। 

कर्मचारी भर्नाका विषयमा विवाद झिकेर नगरपालिकामा बस्ने वातावरण विगारेको नेपालीको आरोप छ। नेपालीले नगरप्रमुख, उपप्रमुख र संघीय सामान्य प्रशासन मन्त्रालयलाई विपक्षी बनाएर मुद्दा दर्ता गरेको बताए। गत फागुनमा रोजगार सहायक एक जना, कम्प्युटर अपरेटर एक जना, एमआइएस अपरेटर एक जना र १२ जना कार्यालय सहयोगीका लागि भएको परीक्षामा नेपालीले मनोमानी गरेको आरोप लगाएका थिए।

 स्थानीय केटा परिचालन गरी डर धम्की देखाएकाले सुरक्षाको माग गर्दै प्रशासकीय प्रमुख नेपाली भागेर जिल्ला सदरमुकाम हुँदै काठमाडौं गएका थिए। स्थानीयबाट सुरक्षाको खतरा महसुस गरेपछि सुरक्षाको माग गर्दै प्रमुख जिल्ला अधिकारीलाई भेटेको नेपालीले करारमा कर्मचारी राख्न खोलेको विज्ञापनको परीक्षाफल प्रकाशनमा कुनै त्रुटि नभएको दाबी गर्दै आएका छन्।

विशेष अदालत पाटनमा मुद्दा दर्ता गरेका नेपालीले आफ्नो पक्षमा अदालतले निर्णय गरेको बताए। उनले मुद्दा किनारा नलागुञ्जेलसम्म कामकाजमा फर्कन आदेश दिएको बताए। ‘मैलै हालेको मुद्दामा अदालतले मुद्दाको किनारा नलागुञ्जेलसम्म कामकाज गर्न दिनू भनेर विपक्षीको नाममा आदेश जारी गरेको छ,’ उनले भने, अब काममा फर्किन्छु। भोलि नै काठमाडौंबाट कार्यक्षेत्रमा फर्किने तयारी छ।’ 
 

प्रतिक्रिया