बैतडी : दशरथचन्द नगरपालिकाले पहिलो पटक नगर स्थापना दिवस मनाउने तयारी गरेको छ । आज औपचारिक कार्यक्रमको आयोजना गरेर नगर स्थापना दिवस मनाइने नगरपालिकाका सूचना अधिकारी राजबहादुर बिष्टले बताए ।
२०५३ साल चैत १४ गते सरकारले दशरथचन्द नगरपालिका स्थापना गर्ने निर्णय गरेको थियो २०५३ साल चैत २४ गते कार्यालय स्थापना भएको थियो । नगरपालिका स्थापनाको निर्णय भएको दिन चैत १४ गतेदेखि विभिन्न कार्यक्रमको आयोजना गरिएको सूचना अधिकारी बिष्टले जानकारी दिए ।
नगरपालिकाको कार्यालय स्थापना भएको चैत २४ मा औपचारिक कार्यक्रम गरेर नगर स्थापना दिवस मनाइने बताइएको छ । नगर स्थापना दिवसको अवसरमा सहभागिताका लागि सबैलाई आग्रह समेत गरिएको नगरपालिकाले जनाएको छ ।
प्रथम नगर दिवसको अवसरमा विभिन्न सांस्कृति झाँकीहरु प्रस्तुत हुनेछन् भने नगरपालिकाको प्रतीक चिन्ह (लोगो) अनावरण गर्ने कार्यक्रम रहेको छ । यस्तै पूर्व नगर प्रमुखहरुलाई सम्मान गर्ने कार्यक्रम समेत रहेको सूचना अधिकारी बिष्टले बताए । उनले भने ‘प्रथम नगर स्थापना दिवसलाई भव्यताका साथ सम्पन्न गर्ने तयारी पूरा भएको छ । गोठलापानी बसपार्कमा औपचारिक कार्यक्रम हुनेछ ।’
प्रतिक्रिया