२०८१ असोज ०४ गते शुक्रबार
ट्रेन्डिङ

२५ गतेभित्र नयाँ पाठ्यपुस्तक छपाइ सकिने, भोलिदेखि विक्री वितरण खुला

SansherOnline SansherOnline
बिहिबार २३, चैत २०७९ १०:०३
२५ गतेभित्र नयाँ पाठ्यपुस्तक छपाइ सकिने, भोलिदेखि विक्री वितरण खुला

 

काठमाडौं : आगामी नयाँ शैक्षिक सत्रका लागि पाठ्यपुस्तक छपाइको काम यही चैत २५ गतेभित्र सकिने भएको छ। अब धेरै नभएकाले यो समयमा नयाँ पुस्तक छपाइ सकिसक्ने सरकारको स्वामित्वमा रहेको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका प्रबन्ध निर्देशक अनिलकुमार झाले जानकारी दिए।

जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका प्रबन्ध निर्देशक झाका अनुसार २०८० सालको शैक्षिक सत्रका लागि १ करोड ५० लाख थान नयाँ पुस्तक छाप्नुपर्ने थियो। ‘अब २ लाख थान मात्रै किताब छाप्न बाँकी छ। अरू सबै छापिसकिएको छ’‚ उनले भने। उनले यो बाँकी पुस्तक छपाइको काम २ दिनभित्र सकिने दाबी गरे।

भोलिदेखि विक्री शुरु, १० दिनभित्र सबै ठाउँमा पुग्ने

जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका प्रबन्ध निर्देशक झाले भोलि (शुक्रबार)देखि छापिएको नयाँ पुस्तक विक्री शुरु गर्ने जानकारी दिए। उनका अनुसार पहिलो प्राथमिकता दुर्गम क्षेत्रलाई दिइएको छ। ‘दुर्गम क्षेत्रमा पुस्तक विक्री वितरण गर्न पहिलो प्राथमिकता राखेका छौँ। ढिलोमा वैशाख २ गतेसम्म ती क्षेत्रमा पुस्तक पुग्छ’‚ उनले भने। 

वर्षेनि समयमा पुस्तक नपुग्ने समस्या दोहोरिँदै आएको छ। त्यसो त यस वर्ष पनि त्यही समस्या दोहोरिएला कि भन्ने चिन्ता छ तर यो वर्ष यो समस्या नदोहोरिने जनक शिक्षाको दाबी छ। जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका प्रबन्ध निर्देशक झाले ढिलोमा अबको १० दिनभित्र सम्बन्धित ठाउँमा पुस्तक पुग्ने दाबी गरे।

उनका अनुसार जनक शिक्षाका केन्द्रीय कार्यालय बजार व्यवस्था विभाग, प्रदेश १ कार्यालय विराटनगर, मधेश प्रदेश कार्यालय जनकपुर, बागमती प्रदेश कार्यालय भरतपुर, गण्डकी प्रदेश कार्यालय पोखराबाट पुस्तक विक्री शुरु हुनेछ। 

यसैगरी लुम्बिनी प्रदेश कार्यालय सुर्खेत, सुदूरपश्चिम प्रदेश कार्यालय धनगढी र प्रादेशिक प्रेस नेपालगञ्जमा पुस्तक पठाई त्यहाँबाट किताब वितरण हुने उनको भनाइ छ। ‘यी ठाउँबाट पुस्तक विक्री हुनेछ। यसका लागि सम्पर्क गर्न अनुरोध गर्दछौँ’‚ उनले भने।

उपत्यकाभित्र चैत ३० गतेदेखि पुस्तक वितरण गरिने

प्रबन्ध निर्देशक झाका अनुसार काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका लागि चैत ३० गतेदेखि ४ गतेसम्म पुस्तक वितरण गरिनेछ।

‘यो समयमा वितरण गर्न काठमाडौं, भक्तपुर र ललितपुर जिल्लालाई बोलाइएको छ’‚ उनले भने। उनका अनुसार यी तीन जिल्लाका लागि र जनक शिक्षाका केन्द्रीय कार्यालय सानोठिमी भक्तपुरबाट किताब वितरण गरिनेछ।

५० देखि २५७ रुपैयाँसम्म पुस्तकको मूल्य

जनक शिक्षाले पाठ्यपुस्तकको मूल्य पनि तोकेको छ। जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले सार्वजनिक गरेको २०७९ को मूल्यअनुसार बढीमा २५७ रुपैयाँसम्म मूल्य कायम गरिएको छ। कक्षा-१० को विज्ञान विषयको २५७ रुपैयाँ मूल्य कायम गरिएको छ। यो सबैभन्दा बढी मूल्य हो।

कक्षा ९ को नागरिकशास्त्र विषयको मूल्य ५० रुपैयाँ तोकिएको छ। यो अन्य विषयको भन्दा कम मूल्य छ। अन्य पुस्तकको मूल्य जनक शिक्षाको वेबसाइटमा हेर्न सकिनेछ। विद्यालयहरूले तोकिएको यी मूल्यभन्दा बढीमा बेच्न नपाउने र पाइएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जनक शिक्षाको चेतावनी छ। 

थाहाखबर 

प्रतिक्रिया