२०८१ बैशाख ०६ गते बिहिबार
ट्रेन्डिङ

खोड्पेमा पहिलो पटक एम्बुलेन्स सेवा शुरु

SansherOnline SansherOnline
बुधबार २२, चैत २०७९ ०८:४०
खोड्पेमा पहिलो पटक एम्बुलेन्स सेवा शुरु

 

बैतडी : बैतडीको खोड्पेमा पहिलो पटक एम्बुलेन्स सेवा शुरु भएको छ । बैतडी,बझाङ र डडेल्धुरा जोड्ने जिल्लाको मुख्य नाका खोड्पेमा पहिलो पटक एम्बुलेन्स सेवा शुरु गरिएको हो । 

सिद्धेश्वर स्वास्थ्यचौकीले सञ्चालन गर्ने गरेर खोड्पेमा एम्बुलेन्स सेवा सञ्चालनमा ल्याइएको पाटन नगरपालिका वडा नं ८ का वडा अध्यक्ष हरिश बिष्टले बताए । 

खोड्पेमा एम्बुलेन्स सेवा सञ्चालनमा आएपछि जिल्लाको पाटन नगरपालिका, सुर्नया गाउँपालिका र सिगास गाउँपालिकाका नागरिकलाई फाइदा पुग्ने वडा अध्यक्ष बिष्टले बताए । उनले भने ‘खोड्पे बजार तीन जिल्ला जोड्ने मुख्य बजार हो । आकस्मिक बिरामीहरुलाई अस्पताल सम्म पुर्याउनका लागि एम्बुलेन्स नहुँदा समस्या भइरहेको थियो । एम्बुलेन्स सेवा सञ्चालनमा आएपछि अब सहज हुनेछ ।’

पाटन नगरपालिकाले हालै नयाँ एम्बुलेन्स खरीद गरेपछि पाटन प्राथमिक स्वास्थ्य केन्द्रले सञ्चालन गर्दै आएको एम्बुलेन्स सिद्धेश्वर स्वास्थ्यचौकीलाई हस्तान्तरण गरिएको थियो । सिद्धेश्वर स्वास्थ्यचौकीमा अब नियमित चौबिसै घण्टा एम्बुलेन्स सेवा सञ्चालन हुने सिद्धेश्वर स्वास्थ्यचौकीका प्रमुख जयराज भट्टले बताए । 

एम्बुलेन्सको जिल्ला दररेट अनुसार दररेट कायम गरिने वडा अध्यक्ष बिष्टले बताए । समस्यामा परेका, अति विपन्न नागरिक, गर्भवती तथा सुत्केरी महिलाहरुलाई सहज तरीकाले एम्बुलेन्स सेवा उपलब्ध गराउने बिषयमा छलफल भइरहेको वडा अध्यक्ष बिष्टले बताए । 

दशरथचन्द राजमार्ग, जयपृथ्वीराज र भीमदत्त राजमार्ग जोड्ने मुख्य बजारको रुपमा रहेको खोड्पेमा एम्बुलेन्स सेवा सञ्चालनमा आएपछि सबैलाई सहज भएको स्थानीयहरुले बताएका छन् । 

यो संगै पाटन नगरपालिकाभित्र अब दुईओटा एम्बुलेन्स सञ्चालन भएका छन् । नगरपालिकाले हालै खरीद गरेको नयाँ एम्बुलेन्स पाटन प्राथमिक स्वास्थ्य केन्द्रले सञ्चालन गरिरहेको छ भने सिद्धेश्वर स्वास्थ्यचौकीले पुरानो एम्बुलेन्स सञ्चालन गरिरहेको छ । 

प्रतिक्रिया