२०८१ असोज ०४ गते शुक्रबार
ट्रेन्डिङ

बैतडीमा कोरोना विरुद्ध ‘बुस्टर डोज’ लगाइँदै

SansherOnline SansherOnline
आइतबार १९, चैत २०७९ १०:०१
बैतडीमा कोरोना विरुद्ध ‘बुस्टर डोज’ लगाइँदै

बैतडी : बैतडीमा कोरोना विरुद्ध खोपको बुस्टर डोज लगाउने कार्य शुरु गरिएको छ । खोपको पहिलो र दोश्रो मात्रा लगाएका नागरिकहरुलाई बुस्टर डोज दिन थालिएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए । 

पहिलो बुस्टर डोज लगाएको ६ महिना पूरा भएका नागरिकहरुलाई पनि दोश्रो बुस्टर डोज दिइने स्वास्थ्य प्रमुख भट्टले बताए । कोरोना विरुद्धको बुस्टर डोजका लागि जिल्लामा १२ हजार खोप प्राप्त भएको र सो खोप पालिकाहरुमा पठाइएको उनले बताए । 

पालिकाहरुले स्वास्थ्य संस्थाहरु मार्फत कोरोना विरुद्धको बुस्टर डोज लगाउने कार्य गरिरहेका स्वास्थ्य कार्यालयका सूचना अधिकारी विपिन लेखकले जानकारी दिए । 

५५ बर्ष माथिका सबै जेष्ठ नागरिक, १२ बर्षमाथिका स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, दीर्घरोगी लगायतलाई बुस्टर डोज लगाउने कार्य भइरहेको हो । 

कोरोना भाइरसका संक्रमितहरुको संख्या बढ्दै गइरहेको अवस्थामा बुस्टर डोज दिने कार्य शुरु गरिएको हो । कोरोना भाइरस विरुद्धको खोपले कोरोनाबाट बचाउने भएकाले यो खोप लगाउन स्वास्थ्यकर्मीहरुले आग्रह समेत गरेका छन् । 

बैतडीमा झण्डै एक लाख ८० हजार नागरिकले कोरोना विरुद्धको पूर्ण खोप पाएका छन् । स्वास्थ्य कार्यालयका अनुसार जिल्लाभरी १ लाख ७८ हजार ८ सय २० जनाले कोरोना विरुद्ध पूर्ण खोप पाएका छन् । यस्तै १ लाख ७७ हजार २ सय ९३ जनाले खोपको पहिलो मात्रा लगाएका छन् भने ९७ हजार ६ सय १९ जनाले बुस्टर डोज लगाएका छन् ।

बुस्टर डोज लगाउन बाँकी रहेका नागरिकलाई प्राथमिकतामा राखेर खोप लगाउने कार्य भइरहेको हो । त्यस्तै बुस्टर डोजको पहिलो मात्रा लगाएको ६ महिना पूरा भएका नागरिकलाई पनि दोश्रो बुस्टर डोज दिने कार्य भइरहेको बताइएको छ । 

प्रतिक्रिया