२०८१ असोज ०४ गते शुक्रबार
ट्रेन्डिङ

सुदूरपश्चिममा कोरोना सङ्क्रमण बढ्दै

SansherOnline SansherOnline
आइतबार १९, चैत २०७९ ०५:४९
सुदूरपश्चिममा कोरोना सङ्क्रमण बढ्दै

 

कैलाली : गर्मी बढेसँगै सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरसको सङ्क्रमण देखिन थालेको छ । विगतका वर्षमा कोरोनाको उच्च जोखिममा रहेको सुदूरपश्चिममा पुनः कोरोनाको सङ्क्रमण देखिन थालेको हो । जाडो याममा शून्यमा झरेको कोरोना सङ्क्रमण गर्मी बढेसँगै देखिन थालेको हो । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयको पछिल्लो तथ्याङ्क अनुसार सङ्क्रमणको दर बढ्न थालेको छ । एन्टिजेन विधिबाट १६६ जना शङ्कास्पद बिरामीको नमुना परीक्षण गर्दा ३ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

सङ्क्रमित हुनेमा भारतबाट फर्किनेहरू छन् । भारतमा सङ्क्रमितको दर बढेसँगै यहाँ पनि सङ्क्रमणको दर बढेको हो । कोरोना सङ्क्रमणको ग्राफ उकालो लागेसँगै त्यसको न्यूनीकरणका लागि सतर्कता भने बढाउन सकिएको छैन । सर्वसाधारणहरू पनि बेफिक्री देखिएका छन् ।

सुदूरपश्चिम प्रदेशको भारतसँग जोडिएको मुख्य सीमा नाका गड्डा चौकी र गौरीफन्टाका साथै कैलालीको सत्ती भन्सार नाकामा सतर्कता बढाउन सकिएको छैन । कञ्चनपुरका निमित्त प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले सङ्क्रमण जतिबेला पनि बढ्ने भएकाले तयारी बढाएको बताए । सीमा नाकामा केही केस देखिएसँगै नियमित रूपमा स्वास्थ्य जाँच र शंकास्पदहरुको नमुना सङ्कलन र परीक्षणका लागि प्रादेशिक प्रयोगशाला पठाउँदै आएको उनले जनाए ।

जिल्लास्थित गड्डा चौकी र त्रिनगर गौरीफन्टा सीमा नाकामा स्वास्थ्यकर्मीहरू परिचालित अवस्थामा रहेको बताउँदै उनले थप प्रभावकारी बनाउन केही दिन अघि सरोकारवालाको बैठक समेत बसेको सुनाए । कोरोना कहरकै बेलाको सतर्क अपनाउन जरुरी रहेकाले आम सर्वसाधारणले भौतिक दूरी कायम गर्नुका साथै मास्क प्रयोग गर्नेलगायत सतर्कता अपनाउनुपर्नेमा प्रशासनको जोड छ ।

कैलालीका प्रमुख जिल्ला अधिकारी युवराज कटेलले फैलिन सक्ने सङ्क्रमणलाई मध्यनजर गरी उच्च सतर्कता अपनाएको बताए । सीमा नाकामा जाँचसँगै सबै पालिकामा तत्कालै कोरोना विरुद्धको बुस्टर डोज दिने तयारीमा रहेको बताउँदै उनले कैलालीका लागि ५४ हजार डोज खोप आएको जानकारी दिए ।

सङ्क्रमितलाई लक्षित गरी कैलालीको धनगढी र कञ्चनपुरको भीमदत्त नगरपालिका–१८, भगतपुरमा १÷१ हजार क्षमताको होल्डिङ सेन्टर निर्माण गरिए पनि तिनको व्यवस्थापनबारे सरोकारवाला निकायले तदारुकता देखाउन नसकेको पाइएको छ ।

सेती प्रादेशिक अस्पताल धनगढीका कोभिड विभाग प्रमुख तथा फिजिसियन डाक्टर शेरबहादुर कमरले जाडो याममा कम देखिएको कोरोना सङ्क्रमण गर्मीमा पुनः देखिएकाले सतर्कता अपनाउनुपर्ने बताए ।

उनले भने, ‘यो भाइरल इन्सफेक्सन हो । लुकेर बसेको हुन्छ । कहिले हराएर जान्छ, कहिले देखिन्छ । रोगसँग लड्ने क्षमता कमजोर देखिएपछि सङ्क्रमण हुन्छ ।’ डाक्टर कमरका अनुसार हाल सङ्क्रमित देखिएकाहरूको अवस्था सामान्य छ ।

प्रतिक्रिया