बैतडी : गएको फागुन १३ गते पीकनिक मनाउन गएका दशरथचन्द नगरपालिका- १० का ३० वर्षीय जिवन बुढाल मृत्यु प्रकरणका मुख्य आरोपित मध्ये तीन जनालाई जिल्ला अदालत बैतडीले धरौटीमा रिहा गरेको भन्दै पीडित पक्षले शुक्रबार जिल्ला अदालत र प्रशासन कार्यालय अगाडी शान्तिपुर्ण धर्ना दिएका छन् । अदालतले अन्तिम फैसला गरिनसकेकाे भएपनि मृतककी पत्नी सहित पीडित पक्षले धर्ना तथा जुलुस गरिरहेका छन् ।
पीडित परिवार र बुढालका गाउँलेहरुले धर्ना तथा जुलुस निकालेका हुन् । दोगडाकेदार गाउँपालिका- ४ जाडाबगडस्थित चमेलीया नदी किनारमा साथीहरुसंग पिकनिक गएका बुढाल मृत अवस्थामा फेला परेका थिए । उनि मृत भेटिएको स्थानमा विष्फोटक पदार्थ समेत फेला परेको थियो । उक्त विष्फोटक पदार्थ माछा मार्न प्रयोग गरिएको अनुसन्धानबाट खुलेको छ ।
बुढालको मृत्यु पछि पीडित पक्षले उनिसंगै पीकनिक गएका १२ जना बिरुद्ध हत्या आरोपमा किटानी जाहेरी दिएका थिए । आराेपितहरूलाइ प्रहरीले फागुन १४ गते पक्राउ गरेकाे थियाे । १२ मध्ये तीन जाना पीकनिकमा सहभागिका लागि खाना बनाउने काममा भएको बुझिएको छ भने एक एक गाडी चालक हुन् ।
मृत्यु प्रकरणमा मुख्य दोषिकाे आराेप लागेका ७ जनामध्ये जिल्ला अदालत बैतडीले तीन जानालाई बिहीबार जनही एक लाख ५० हजार धरौटीमा रिहा गरेको छ भने चार जनालाई पुर्पक्षका लागि थुनामा पठाएको छ । अदालतले आरोपित गजेन्द्रसिंह रावल, नारायणसिंह ऐरी, अर्जुनसिंह रावल र भीमसिंह गठुन्नालाई पुर्पक्षका लागि थुनामा पठाएको छ भने दिपेन्द्रसिंह ऐरी, पुष्पराज भट्ट र टेकसिंह खत्रीलाई धरौटीमा रीहा गरेको छ ।
अदालतले घटनामा संलग्न भनिएका नविनसिंह ठगुन्ना र श्यामसिंह ऐरीलाई जनही ५० हजार धरौटीमा रीहा गरेको छ भने मोहन सिंह ठगुन्ना, केशबसिंह बुढाल र भुवनराम लुहारलाई राधारण तारेखमा रिहा गरेको जिल्ला अदालतका तहसिलदार तिर्थराज आचार्यले बताउनुभयाे ।
प्रतिक्रिया