२०८१ असोज ०३ गते बिहिबार
ट्रेन्डिङ

प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा जात्रा सुरु , बैतडीमा जात्राको रौनक

SansherOnline SansherOnline
मङ्गलबार १४, चैत २०७९ ०६:५४
प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा जात्रा सुरु , बैतडीमा जात्राको रौनक

बैतडी : चैतेदशैंको अवसर पारेर बैतडीको दशरथचन्द नगरपालिका २ देहीमाण्डौंस्थित प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा जात्रा शुरु भएको छ । आजदेखि शुरु भएको जात्रा चैतेदशैंका दिन राँगाको बलिसहित समापन हुने निङ्गलाशैनी भगवती धार्मिक सेवा समितिले जनाएको छ । 

चैत शुक्ल प्रतिपदाका दिनदेखि नित्य पूजाआजा भइरहेको निङ्गलाशैनी भगवती मन्दिरमा चैत शुक्ल अष्टमीका दिन पशु बलिसहित जात्रा हुने गरेको निङ्गलाशैनी भगवती धार्मिक सेवा समितिका अध्यक्ष मुखिया मानबहादुर बोहराले बताए । आज सप्तमीका दिन राँगा बाँध्ने र अष्टमीका पशुबलि दिने चलन रही आएको उनले बताए । 

निङ्गलाशैनी भगवती मन्दिरमा बर्षमा ४ पटक जात्रा लाग्ने गरेको बताइएको छ । दशैंको बेला महाष्टमीका दिन पशुबलिसहित जात्रा हुने निङ्गलाशैनी भगवती मन्दिरमा चैतको महिनाको चैतेदशैंमा पनि जात्रा हुने गरेको छ । 

यस्तै गरेर अनन्त चतुर्दशी र धान्य पूर्णिमाका दिन पनि सो मन्दिरमा जात्रा लाग्ने गर्दछ । निङ्गलाशैनी भगवती मन्दिरमा लाग्ने जात्रामा नेपालका मात्रै नभएर सीमावर्ती भारतीय दर्शनार्थी समेत आउने गरेका मन्दिरका भण्डारे चक्रबहादुर बोहराले बताए । 

यस्तै मेलौलीस्थित मेलौली भगवती मन्दिरमा पनि चैते नवरात्रमा बिशेष पूजाआजा हुने गरेको स्थानीयहरुले बताएका छन् । चैत शुक्ल प्रतिपदादेखि चैत्राष्टमी सम्म दैनिक पशु बलिसहित पूजाआजा हुने गरेको स्थानीय चिन्तामणी भट्टले जानकारी दिए । 

यस्तै त्रिपुरासुन्दरी भगवती मन्दिर, डिलाशैनी भगवती मन्दिर, कफलाशैनी भगवती मन्दिरमा समेत चैते नवरात्रमा जात्रा हुने गरेको स्थानीयहरुले बताएका छन् । 

सिगास, शिवनाथ, दोगडाकेदार, महारुद्र,अनिरुद्र लगायतका मन्दिरहरुमा समेत जात्रा लाग्ने गर्दछ । मन्दिर तथा शक्तिपीठहरुमा लाग्ने जात्रामा बसाइँसराइ गरेर गएकाहरु पनि पुख्र्यौली थलोमा आउने गरेका छन् । 

प्रतिक्रिया