२०८१ असोज ०३ गते बिहिबार
ट्रेन्डिङ

मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न गठबन्धनको बैठक बस्दै

SansherOnline SansherOnline
मङ्गलबार १४, चैत २०७९ ०८:३७
मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न गठबन्धनको बैठक बस्दै

 

काठमाडौँ । सत्ता गठबन्धनको बैठक आज (मंगलबार) बस्दै छ । बैठक दिउँसो ४ बजेका लागि बोलाइएको छ । बैठकमा मन्त्रिपरिषद् विस्तारका विषयमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

यसअघि सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको थियो । उक्त भेटवार्तामा मंगलबार दिउँसो ४ बजे गठबन्धनमा आबद्ध दलका नेताको बैठक बोलाउने सहमति भएको थियो ।

आजको बैठकले मन्त्रालय भागवण्डाको अन्तिम टुङ्गो लगाउने बताइएको छ । लामो समय मन्त्रालयहरू रिक्त रहँदा जनसरोकारका काममा समेत प्रभाव परेको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहालले आज भोलि नै मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गरिरहेका छन् ।

प्रधानमन्त्री प्रचण्डले कांग्रेसलाई एक राज्यमन्त्रीसहित ८, माओवादी केन्द्रलाई प्रधानमन्त्रीसहित ५ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेकपा (एकीकृत समाजवादी)लाई एक राज्यमन्त्रीसहित ३–३ मन्त्रालय, जसपालाई दुई मन्त्रालय दिने गरी भागवण्डाको खाका तयार पारेको बताइन्छ । अन्य साना दललाई एक एक मन्त्रालय दिएर सरकारमा समावेश गर्ने उनको तयारी छ ।

प्रतिक्रिया