२०८१ असोज ०३ गते बिहिबार
ट्रेन्डिङ

घट्यो बैतडीको जनसंख्या ०.३४ प्रतिशतले

SansherOnline SansherOnline
सोमबार १३, चैत २०७९ ०५:४१
घट्यो बैतडीको जनसंख्या ०.३४ प्रतिशतले

 

बैतडी । बैतडीको जनसंख्या साढे ६ हजार घटेको छ । तथ्यांक विभागले सार्वजनिक गरेको जनगणनाको प्रारम्भिक विवरणअनुसार यहाँको जनसङ्ख्या घटेको पाइएको हो ।

०६८ को जनगणनाअनुसार बैतडीको जनसङ्ख्या दुई लाख ५० हजार आठ सय ९८ रहेकोमा १० वर्षमा घटेर दुई लाख ४४ हजार चार सय पुगेको छ । दश वर्षमा ६ हजार चार सय ९८ घटेको साविकको जिल्ला जनगणना कार्यालयका प्रमुख सुरेन्द्रप्रसाद पन्तले बताउनुभयो । 

सार्वजनिक विवरणअनुसार जिल्लाको सबैभन्दा बढी जनसंख्या पुर्चौडी नगरपालिकामा रहेको छ । त्यहाँको जनसंख्या १९ हजार नाै सय ६५ रहेको छ । दशरथचन्द नगरपालिकाको जनसङ्ख्या १६ हजार सात सय ३३, पाटनको जनसंख्या १४ हजार नाै सय ४५ र मेलौलीको जनसंख्या ११ हजार दुई सय ६५ रहेको छ ।

दोगडाकेदार गाउँपालिकाको जनसंख्या १२ हजार सात सय ६५, सिगास गाउँपालिकाको जनसंख्या १२ हजार तीन सय २६, डिलाशैनी गाउँपालिकाको जनसंख्या ११ हजार आठ सय ८६, शिवनाथ गाउँपालिकाको जनसंख्या नौ हजार सात सय ५८, सूर्नया गाउँपालिकाको जनसंख्या नौ हजार ६ सय ८१ र पञ्चेश्वर गाउँपालिकाको जनसङ्ख्या नौ हजार ६ सय ५० रहेको छ । 

बसाइसराइलगायत कारणले जिल्लाको जनसंख्या घटेको प्रमुख पन्तले बताउनुभयो । उहाँले भन्नुभयो, 'जनसंख्या घट्नुको प्रमुख कारण बसाइसराइ नै हो, तराइको जनसंख्या बढेकाले पहाडबाट बसाइ सरेर तराइ झर्ने बढेका छन् ।'

रासस

प्रतिक्रिया