२०८१ बैशाख १३ गते बिहिबार
ट्रेन्डिङ

नागार्जुन स्वास्थ्यचौकीमा सेवा बन्द हुँदा स्थानीयको गुनासो , सिडिओ सहितको टोलीले स्थलगत अनुगमन गरेयो

SansherOnline SansherOnline
आइतबार ०५, चैत २०७९ १०:१५
नागार्जुन स्वास्थ्यचौकीमा सेवा बन्द हुँदा स्थानीयको गुनासो , सिडिओ सहितको टोलीले स्थलगत अनुगमन गरेयो

बैतडी :  दशरथचन्द नगरपालिका –११ स्थित नागार्जुन स्वास्थ्यचौकीमा प्रमुख जिल्ला अधिकारीसहितको टोलीले स्थलगत अवलोकन तथा निरीक्षण गरेको छ । शुक्रबार प्रमुख जिल्ला अधिकारीसहितको टोलीले अनुगमन गर्दा स्वास्थ्य संस्थाको अवस्था नाजुक रहेको पाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 

स्वास्थ्य संस्थाबाट प्रदान गरिने सेवाहरु प्रभावकारी रुपमा सञ्चालन हुन नसकेका र कार्यालय समयमा समेत कर्मचारीहरु अनुपस्थित हुने गरेको पाइएको प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले बताए । 

यस्तै स्वास्थ्यचौकीमा न्यूनतम भौतिक पूर्वाधारको अभाव, खानेपानीको प्रबन्ध नभएको, दरबन्दी अनुसारको जनशक्ति पदपूर्ति नभएको, स्वास्थ्य संस्थाबाट नियमित रूपमा प्रवाह गर्नुपर्ने स्वास्थ्य तथा प्रसूति सेवाहरु प्रवाह नभएको, स्वास्थ्य चौकीको सरसफाइमा ध्यान नदिएको तथा उपलब्ध स्रोत साधनहरूको समेत उचित संरक्षण र समुचित प्रयोग नगरिएको पाइएको अनुगमन टोलीले जनाएको छ । 

नागार्जुन स्वास्थ्यचौकीमा सुरक्षित प्रसुती सेवा बन्द हुँदा निकै समस्या परेको त्यहाँका नागरिकहरुले गुनासो समेत गरेका छन् । वडामा रहेको स्वास्थ्यचौकीमा सुरक्षित प्रसुती सेवा बन्द हुँदा टाढा जानुपर्ने अवस्था रही आएको स्थानीय नरी पन्तले बताए । 


अनुगमनका क्रममा स्वास्थ्यचौकी सञ्चालनका लागि आवश्यक प्रशासनिक खर्च समेत नगरपालिकाबाट निकासा नहुँदा अत्यावश्यकीय सेवा प्रवाहमा समस्या सृजना भएको प्रशासनले जनाएको छ । 

जनताको प्रत्यक्ष दैनिक जीवनसंग जोडिएको स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा समेत पालिकाको ध्यान नजाँदा नागरिक आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित भएका छन् । स्वास्थ्यचौकीको सेवालाई प्रभावकारी बनाउनका लागि प्रशासनले दशरथचन्द नगरपालिकालाई आग्रह समेत गरेको छ । 

नागार्जुन स्वास्थ्यचौकीमा सुरक्षित प्रसुती सेवा जस्तो अत्यावश्यक सेवा समेत बन्द हुँदा स्थानीय नागरिक समस्यामा परेका छन् । सेवा सञ्चालनका बिषयमा पटक पटक ध्यानाकर्षण गराएको भएपनि सरोकारवाला निकायहरुले कुनै चासो नदिएको स्थानीय नरी पन्तले बताए । उनले भने ‘सुत्केरी व्याथा लागेका महिलाहरुलाई रातिको समयमा अन्यत्र लैजाँदा निकै समस्या हुने गरेको छ । घर नजिकको स्वास्थ्य संस्थामा सेवा उपलब्ध नहुँदा साह्रै मार्कामा परेका छौं ।’

प्रतिक्रिया