२०८१ बैशाख ०७ गते शुक्रबार
ट्रेन्डिङ

मदिरा नियन्त्रण अभियानमा सिगासका महिलालाई जुटाउदै उपाध्यक्ष धामी

SansherOnline SansherOnline
शुक्रबार ०३, चैत २०७९ ०३:४२
मदिरा नियन्त्रण अभियानमा सिगासका महिलालाई जुटाउदै उपाध्यक्ष धामी

बैतडी : मनपरी मदिरा सेवन गरेर गाउँमा होहल्ला गर्ने क्रम बढेपछि  नियन्त्रणका लागि बैतडीको सिगासका महिलाहरु एकजुट हुन थालेका छन् । मदिराका कारण महिला तथा बालबालिकाहरुमाथि हुने हिंसामा वृद्धि भएपछि महिलाहरुले सञ्जाल गठन गरेर मदिरा नियन्त्रण गर्ने अभियान सञ्चालन गरेका हुन् । 

गाउँपालिकाका ९ ओटै वडामा महिला सञ्जाल गठन गरेर मदिरा नियन्त्रण अभियान सञ्चालन गरिएको गाउँपालिका उपाध्यक्ष धाना धामीले बताइन् । मदिरा नियन्त्रण, लैंगिक हिंसा न्यूनीकरण र सामाजिक विकृति अन्त्यका लागि वडा–वडामा महिला सञ्जाल गठन गरिएको उनले बताइन् । प्रत्येक वडामा पुगेर महिला सञ्जाल गठन कार्यमा आफू सरीक भएको उनले बताइन् । उनले भनिन् ‘घरेलु हिंसाको मुख्य कारण मदिरा देखिएको छ ।मदिरा नियन्त्रणका लागि महिला स्वयं नजाग्दा सम्म सम्भव नभएकाले महिला सञ्जाल गठन कार्य अघि बढाएकी हुँ ।’

पालिकाका ८ ओटा वडामा महिला सञ्जाल गठन भइसकेको छ भने ९ नम्बर वडामा सञ्जाल गठनको तयारी भइरहेको छ । महिला सञ्जालमार्फत महिला सशक्तीकरणका कार्यक्रम समेत सञ्चालन गर्ने आफूहरुको योजना रहेको उपाध्यक्ष धामीले बताइन् । 

महिलाहरुलाई योजना निर्माणका काममा समेत सक्रिय गराउने उद्देश्य रहेको उनले सुनाइन् । महिलामाथि हुने विभेद अन्त्यका लागि स्थानीयस्तरमा महिला नेतृत्व तयार गर्नका लागि महिला सञ्जाल गठन गरिएको उपाध्यक्ष धामीको भनाइ छ । 

 

प्रतिक्रिया