२०८१ बैशाख ०७ गते शुक्रबार
ट्रेन्डिङ

जङ्गली जनावरले सताएपछि वन ऐन संशोधनको प्रस्ताव

SansherOnline SansherOnline
शुक्रबार ०३, चैत २०७९ ११:३३
जङ्गली जनावरले सताएपछि वन ऐन संशोधनको प्रस्ताव

 

अहिले इलामका किसान हिउँदे आलु खन्न व्यस्त छन्। बर्खे आलु पनि अहिले उम्रँदै छ तर खन्ने बेला भएको आलु उठाउन र बर्खे आलु जोगाउन इलामका किसानलाई निकै समस्या भएको छ। इलामका धेरैजसो गाउँमा बाँदर र बँदेलले पाकेको बाली खाएर हैरान भएपछि किसान चिन्तित छन्।

खन्ने बेला भएको आलु बाँदरका कारण एकैछिन छोड्न नमिलेको माईजोगमाई–५ की किसान अम्बिका घिमिरेले बताउनुभयो। “यसो आँखा छल्न पायो भने सयाैँको सङ्ख्यामा आउने बाँदरले आलु खाएर सखापै पार्छ,” घिमिरेले भन्नुभयो, “गत वर्षबाट यहाँ बाँदर आउन थाले, केही गरे पनि बाँदर धपाउन सकिएन।”

उता वर्षैभर बाँदरले दुःख दिएपछि रोङ गाउँपालिकाका किसानले खाद्यान्नको सट्टा अरू नै खेती गर्ने मनस्थितिमा पुगेका छन्। रोङका कोल्बुङ, भालुझोडा, मानाबुङ, खमारेलगायतका क्षेत्रका किसानले बाँदरले नष्ट नगर्ने खेती लगाउने सोचमा पुगेका छन्। यी क्षेत्रमा खाद्यान्नको विकल्पमा वैकल्पिक नगदे बाली बेसार लगाउन सहकारीमार्फत अगाडि बढाइएको कोल्बुङस्थित इको सहकारी संस्थाले जनाएको छ।

सहकारीमा आबद्ध ४८ जना किसानलाई बीउ खरिद गरेर बेसार खेती गर्न सहयोग गरेको संस्थाका व्यवस्थापक गणेश अर्यालले जानकारी दिनुभयो। “बाँदरले खाद्यान्न र तरकारीसमेत हुन नदिएपछि त्यसको विकल्पमा नगदे खेतीका रूपमा बेसार सुरु गर्न लागिएको छ। बेसार राम्रो उत्पादन गर्न सक्दा त्यसको विदेशी बजार राम्रो भएको पाइएपछि किसानलाई बेसारतर्फ प्रोत्साहित गर्न खोजेका छौँ,” अर्यालले भन्नुभयो, “गाउँपालिकाले पनि सहयोग गरेको छ। सहकारी आफैँले हेटौँडाबाट बेसारको बीउ ल्याएर खेती गर्न सहयोग गर्दै छौँ।”

प्रतिकिलो ८० रुपियाँ परेको बेसारको बीउमा ६० रुपियाँ सहकारी र ३० रुपियाँ किसानको साझेदारी रहेको जनाइएको छ। किसानबाट उत्पादित बेसार भने सहकारी आफैँले खरिद गरिदिने र त्यसको प्रशोधन गरेर विदेश पठाउने संस्थाको तयारी रहेको बताइएको छ।

एउटा गाउँ, एउटा पालिकामा मात्र नभएर जिल्लाभरि नै बाँदरको बिगबिगी बढेपछि इलाम नगरपालिकाले बाँदर नियन्त्रणका लागि वन ऐन संशोधन गर्न सङ्घीय सरकारलाई विशेष अनुरोध गर्दै प्रस्ताव पारित गरेको छ।

नगर कार्यपालिकाको दसाैँ बैठकबाट बाँदर नियन्त्रणका लागि ऐन नै संशोधन गर्नुपर्ने अवस्था आएकाले ठहर गर्दै संशोधनको प्रस्ताव गरिएको इलाम नगरपालिका प्रमुख केदार थापाले बताउनुभयो। “अहिले त जिल्लाभरि नै बाँदरको समस्या छ। उत्पादित बाली सबै बाँदरले खाएपछि विकल्प खोज्नुको पनि विकल्प छैन।” थापाले भन्नुभयो, “हामीले सङ्घीय सरकारलाई वन ऐन संशोधनको प्रस्ताव गरेका छौँ। सङ्घीय सरकारले पनि यो विषयमा अध्ययन गर्छ होला।”

उता जङ्गली जनावर बँदेलले आलु नष्ट गरेपछि इलामको उत्तरी लेकाली क्षेत्रका किसान पनि हैरान भएका छन्। कात्तिक–मङ्सिर महिनामा रोपेको आलु चिचिला लाग्न थाल्दै बँदेलले नष्ट गरिसकेको छ। अहिले पुस–माघ महिनामा रोपेको बर्खे आलु पनि बँदेलले उधिनेर खान थालेपछि किसान रातभर जाग्राम बस्नुको विकल्प नभएको किसानले बताएका छन्।

पछिल्लो समय स्थानीय किसान दिनेश केसीले लगाएको दस मन आलु बँदेलले नष्ट गरेको केसीले बताउनुभयो। “जङ्गली जनावर मार्न पाइँदैन, धपाउने कुनै उपाय छैन, अब हामीले गाउँ नै छोडेर हिँड्नुको विकल्प छैन।” केसीले भन्नुभयो, “यहाँका २० भन्दा बढी किसानले लगाएको आलु बँदेलले सबै नष्ट गरिसकेको छ।”

माईजोगमाई गाउँपालिकासहित सूर्योदय नगरपालिका, इलाम नगरपालिका, देउमाई नगरपालिका, सन्दकपुर गाउँपालिकालगायत स्थानीय तहमा बाँदर र बँदेलका कारण बसाइँ सर्ने अवस्था आएको पीडित किसान बताउँछन्।

प्रतिक्रिया