२०८१ बैशाख १३ गते बिहिबार
ट्रेन्डिङ

गृहसहित तीन मन्त्रालयमा एकीकृत समाजवादीको दाबी

SansherOnline SansherOnline
बिहिबार ०२, चैत २०७९ १२:४९
गृहसहित तीन मन्त्रालयमा एकीकृत समाजवादीको दाबी

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्बाट विश्वासको मत लिएपछि सरकार विस्तार गर्ने तयारी गरेका छन् । उनले यही चैत ६ गते विश्वासको मत लिने प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले जानकारी दिए ।

उनका अनुसार सरकार विस्तार र मन्त्रालय बाँडफाँटबारे सत्ता गठबन्धनभित्र छलफल हुन बाँकी छ । दलहरूले आन्तरिक तयारी भने गरिरहेका छन् ।

सत्ता गठबन्धनमा आबद्ध चौथो ठूलो दल नेकपा (एकीकृत समाजवादी)ले गृहसहित तीन मन्त्रालयमा दाबी गर्ने भएको छ । एकीकृत समाजवादीका एक नेता आफूहरूले रोजेको मन्त्रालय पाउनुपर्ने बताउँछन् ।

“माओवादीले प्रधानमन्त्री पायो, कांग्रेसले राष्ट्रपति पायो । जसपाले उपराष्ट्रपति पाउने पक्का भएको छ । गठबन्धनमा रहेको चौथो ठूलो दलको हैसियतले हामीले रोजेको तीन मन्त्रालय पाउनुपर्छ,” ती नेताले  “महत्त्वपूर्ण मन्त्रालय गृह, अर्थ वा भौतिक योजनामध्ये हामीले रोजेको मन्त्रालय पाउनुपर्छ । त्यसमा गृहमा हाम्रो जोड रहन्छ ।”

यस्तै, श्रम, रोजगार तथा सामाजिक सुरक्षा, स्वास्थ्य तथा जनसंख्या र शिक्षा, विज्ञान तथा प्रविधिमध्ये दुई मन्त्रालयमा आफूहरूको दाबी रहने ती नेताले बताए । पार्टीमा औपचारिक रूपमा छलफलपछि निर्णयमा पुग्ने उनको भनाइ छ ।

एकीकृत समाजवादीबाट उपाध्यक्ष राजेन्द्र पाण्डेले मन्त्रिपरिषद्मा नेतृत्व गर्ने सम्भावना छ । पार्टीका महासचिव बेदुराम भुुसालले पनि आकांक्षा राखेको नेताहरू बताउँछन् ।

प्रतिक्रिया