२०८० चैत १६ गते शुक्रबार
ट्रेन्डिङ

कांग्रेसमा मन्त्री बन्न तीव्र लबिङ

SansherOnline sansheronline.com
शुक्रबार १९, फागुन २०७९ ०२:०५
कांग्रेसमा मन्त्री बन्न तीव्र लबिङ

१९ फागुन,काठमाडौँ । सत्तारोहणको पर्खाइमा रहेको नेपाली कांग्रेसभित्र मन्त्री बन्न सांसदले लबिङ तीव्र पारेका छन् । राष्ट्रपति निर्वाचनले सत्ता समीकरण उलटपुलट भएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सरकारमा सहभागी हुने कांग्रेसको तयारी छ । राष्ट्रपति निर्वाचनपछि मन्त्रिपरिषद विस्तार गर्ने प्रधानमन्त्री प्रचण्डको तयारी छ । आठदलीय गठबन्धनमा मन्त्रिपरिषद विस्तारबारे अनौपचारिक छलफल भइरहेको छ । बिहीबार प्रधानमन्त्री प्रचण्डले पनि मन्त्रिपरिषद विस्तारको गृहकार्य भइरहेको बताएका थिए । आठ दलीय गठबन्धनमा केन्द्र र सातै प्रदेशको सरकारका साथै संसदीय समिति सभापतिमा एकैपटक गठबन्धनभित्र सहमतिको तयारी छ ।

२५ सदस्यीय मन्त्रीमण्डलमा अहिले प्रधानमन्त्री, ५ मन्त्री र एक राज्यमन्त्रीको मात्र सहभागिता छ । प्रधानमन्त्री, ४ मन्त्री र एक राज्यमन्त्री माओवादीबाट छन् भने जनमत पार्टीबाट एक मन्त्री सरकारमा सहभागी रहेको अवस्था छ । बाँकी १६ मन्त्री र ३ राज्यमन्त्री आठ दलीय गठबन्धनमा सम्बद्ध ६ दलका लागि भागबण्डा हुनेछ । कांग्रेस, जसपा, एकीकृत समाजवादी, नागरिक उन्मुक्ति, लोसपा र जनमोर्चा सरकार बाहिरै छन् । सांसदको सङ्ख्याको अनुपातमा मन्त्रालय भागबण्डाको मापदण्ड बनाउनु पर्ने पक्षमा कांग्रेस छ । गृह वा अर्थ, परराष्ट्र र स्वास्थ्यसहित १० मन्त्रालयमा कांग्रेसको दाबी छ । 
कांग्रेसका सन्दर्भमा यसअघि एमालेले पाएको मन्त्रालय सङ्ख्यामा कम नहुने गरी गठबन्धनमा सहमति हुनेमा कांग्रेस नेताहरुको दाबी छ । यता जसपा र एकीकृत समाजवादीले तीन–तीन मन्त्रालयको दाबी गरेको गठबन्धनको छलफलमा सहभागी एक नेताले बताए ।  लोसपाले दुई मन्त्रालयको दाबी गरेको छ भने नागरिक उन्मुक्ति पार्टी रेशम चौधरी रिहा नभएसम्म सरकारमा नजाने अडानमा छ । यस्तै आठ दलीय गठबन्धनमा रहेको राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी सरकारमा सहभागी नहुने बताउँछन् । कांग्रेसले १६ मन्त्रालयमा १० मन्त्रालयको दाबी गरेको छ । तर कांग्रेसभित्र मन्त्री बन्न भने दुई दर्जन भन्दा बढी सांसदले लबिङ थालेका छन् ।
कांग्रेसमा उपसभापति धनराज गुरुङ, नेता प्रकाशमान सिंह, शशांक कोइराला, सहमहामन्त्री किशोरसिंह राठौर, बद्री पाण्डे, जीवन परियार, प्रवक्ता प्रकाशशरण महत, एनपी साउद, प्रदीप पौडेल लगायतका शीर्ष नेता मन्त्री बन्ने दौडमा देखिन्छन् । यस्तै उदयशम्शेर राणा, शंकर भण्डारी, सञ्जय गौतम, रामहरि खतिवडा, वीरबहादुर बालयर, सीता गुरुङ, श्याम घिमिरे, अजय चौरसिया, सरिता प्रसाईँ, आरजु राणा, दुर्लभ थापा, ऐनबहादुर शाही, कान्ति सिजवाल लगायका सांसदले पनि मन्त्रीका लागि लबिङ थालेका छन् । कांग्रेसमा नयाँलाई प्राथमिकता दिनुपर्ने आवाज उठेको छ ।

प्रचण्डको सरकारमा यसअघि एमाले र माओवादीले नयाँलाई मन्त्रीमा प्राथमिकता दिएका थिए । सरकारको नेतृत्व गर्न एकजना शीर्ष नेतालाई पठाएर बाँकी मन्त्रीमा नयाँलाई अवसर दिनुपर्ने मत कांग्रेसमा बलियो छ । सांसदहरुले आफू निकट गुटको नेतामार्फत मन्त्री बन्न लबिङ गरेको देखिन्छ । सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा सांसदको ओहोर–दोहोर चलिरहेको छ । देउवाको सचिवालयकाअनुसार सत्ता समीकरण फेरिएपछि विहान र साँझको समयमा सांसदको भीड  लाग्ने गरेको छ ।

प्रतिक्रिया