२०८१ बैशाख ०७ गते शुक्रबार
ट्रेन्डिङ

राष्ट्रपति पदको उम्मेदवार छान्न शीर्ष नेताहरूबीच आज निर्णायक वार्ता ,साझा टुङ्गो लगाउने

SansherOnline SansherOnline
शुक्रबार १२, फागुन २०७९ ०७:३३
राष्ट्रपति पदको उम्मेदवार छान्न शीर्ष नेताहरूबीच आज निर्णायक वार्ता ,साझा टुङ्गो लगाउने

 

काठमाण्डाै : राष्ट्रपति पदको उम्मेदवार छान्न शीर्ष नेताहरूबीच आज शुक्रवार निर्णायक वार्ता हुँदैछ । भोलि शनिवार राष्ट्रपतिका लागि मनोनयन दर्ताको कार्यक्रम रहेकाले दलहरू सकेसम्म आजै बेलुकासम्म साझा उम्मेदवार टुङ्गो लगाउने प्रयासमा छन्

। नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका शीर्ष नेताहरूसँग छुट्टाछुट्टै छलफल गर्दैै हुनुहुन्छ । कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा) को पनि संयुक्त बैठक बस्ने तयारी छ ।

हिजो बिहीवार बसेको माओवादी, एकीकृत समाजवादी र जसपाको संयुक्त बैठकले आज कांग्रेससँग पनि वार्ता गर्ने सहमति गरेको थियो । आजको बैठकले कांग्रेस नेतृत्वको पाँच दलीय पुरानो गठबन्धन ब्युँताउनेबारे अन्तिम प्रयास गर्नेछ । पुरानो पाँच दलीय गठबन्धनमा कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चा रहेका थिए ।

कांग्रेसले राष्ट्रपतिको विषयमा निर्णय गर्न भोलि बिहान कार्यसम्पादन समिति बैठक बोलाएको सह–महामन्त्री जीवन परियारले जानकारी दिनुभएको छ । बैठकले कांग्रेसका तर्फबाट उम्मेदवारको नाम टुङ्ग्याउनेछ । वर्तमान सत्ता गठबन्धनमा रहेको एमालेले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई राष्ट्रपतिमा राष्ट्रिय सहमतिको उम्मेदवार बनाउने प्रस्ताव गरेपछि यसबारेमा पनि सहमतिको प्रयास भइरहेको छ ।

आउँदो २५ गते राष्ट्रपतिको चुनाव हुँदैछ ।  राष्ट्रपति विद्यादेवी भण्डारीको दोस्रो कार्यकाल यही फागुन २८ गते सकिँदैछ ।

प्रतिक्रिया