२०८१ बैशाख ०८ गते शनिबार
ट्रेन्डिङ

सुदूरपश्चिमका डीआईजी सिंहले दिए राजीनामा

SansherOnline SansherOnline
बुधबार १०, फागुन २०७९ ०५:०३
सुदूरपश्चिमका डीआईजी  सिंहले दिए राजीनामा

धनगढी : सुदूरपश्चिम प्रदेशका डीआइजी अशोक सिंहले राजीनामा दिएका छन्। नेपाल प्रहरीका नायब महानिरीक्षक डीआईजी सिंहले राजीनामा दिएका हुन्।

उमेर झुक्याएर सेवामा बहाल रहेको खुलेपछि उनले बुधबार प्रहरी प्रधान कार्यालयको कर्मचारी प्रशासन शाखा पुगेर राजीनामा दिएका हुन्। सिंहको नागरिकता र प्रहरी सिटरोलमा रहेको उमेर फरक–फरक भेटिएको छ। २०५१ चैत ५ मा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका सिंह नागरिकता विवाद नआएको अवस्थामा २०८१ साल चैत ५ सम्म प्रहरी सेवामा रहन्थे।

उनका ब्याजीमध्येबाट आगामी चैत ११ पछि नेतृत्वमा जान लागेको अवस्थामा त्यसअघि नै नागरिकता विवादमा मुछिएपछि राजीनामा दिन बाध्य भएका हुन्। प्रहरी अतिरिक्त महानिरीक्षक एआईजी मा बढुवाका दाबेदार रहेका सिंह त्यसपछि भावी महानिरीक्षक बन्ने दौडमा थिए। २०४९ चैतमा सेवा प्रवेश गरेका हालका महानिरीक्षक आईजीपी धीरजप्रताप सिंहसहित उनका ब्याची सबै उच्च अधिकारी ३० वर्षे सेवा अवधि पूरा गरी चैत ११ बाट अनिवार्य अवकाशमा जाने छन्।

त्यसपछि नेतृत्वमा पुग्नका लागि पहिलो नम्बरमा एआईजी बढुवा हुन चाहेका डीआईजी सिंहमाथि उमेर सच्याएर प्रहरी सेवामा प्रवेश गरेको आरोप लागेको हो। प्रहरी सिटरोलमा सिंहको जन्ममिति २०२५ पुस १६ उल्लेख छ। २०४२ जेठ २२ मा जारी भएको नागरिकतामा भने उमेर १८ वर्ष लेखिएको छ।

सिंह २०५१ चैत ५ मा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका थिए। साविक सेती अञ्चल कैलाली जिल्ला निगाली गाउँ पञ्चायत स्थायी ठेगाना राखेर तत्कालीन प्रमुख जिल्ला अधिकारी देवेन्द्रभक्त श्रेष्ठले नागरिकता जारी गरेका हुन्। नागरिकतामा भएको उमेरअनुसार सेवा अवधि कायम हुने हो भने सिंह २०७९ जेठ २२ मै एसएसपीको उमेर हदका कारण अनिवार्य अवकाशमा जाने थिए।

प्रहरी नियमावलीअनुसार एसएसपीको उमेर हद ५५ वर्ष हुने उल्लेख छ। तर सिटरोलअनुसार उनी अवकाशमा गएनन्। २०५१ चैत ५ मा निरीक्षकमा भर्ना भएका उनी त्यसपछि विभिन्न मितिमा डीएसपी, एसपी र एसएसपीमा बढुवा भएका थिए। बढुवा गर्दा नागरिकता र सिटरोलको उमेर नभिडाई निर्णय भएको छ।

पछिल्लो पटक असार १७ मा सिंहसहितका डेढ दर्जन एसएसपीहरू डीआईजीमा बढुवा भएका थिए। सिंह २०५० मंसिरमा खुलेको आवेदनअनुसार प्रहरी सेवामा प्रवेश गरेका हुन्। नागरिकताको उमेर कायम गर्दा आवेदन मितिमा उनको उमेर २५ वर्ष नाघेको देखिन्छ। यो भनेको सेवा प्रवेश गर्न चाहिने अधिकतम उमेरभन्दा बढी हो।

प्रतिक्रिया