२०८० चैत १६ गते शुक्रबार
ट्रेन्डिङ

डडेल्धुराको शिवशिखर सहकारीविरुद्व आन्दोलनमा उत्रियो ने वि संघ

SansherOnline SansherOnline
बुधबार १०, फागुन २०७९ ०४:४८
डडेल्धुराको शिवशिखर सहकारीविरुद्व आन्दोलनमा उत्रियो ने वि संघ

डडेल्धुरा : बचतकर्ताको रकम फिर्ता नदिएपछि शिवशिखर सहकारीविरुद्व नेपाल विद्यार्थी संघ ने वि संघ डडेल्धुरा आन्दोलनमा उत्रिएको छ । डडेल्धुराका जनताबाट ४० करोड बढी रकम संकलन गरी २ करोड मात्रै बजारमा लगानी गरेको शिवशिखर बहुउद्देश्य सहकारी संस्थाले अहिले आएर रकम फिर्ता गर्नै छोडेपछि नेविसंघ आन्दोलनमा उत्रिएको हो ।

हातहातमा प्लेकार्ड बोकेर नेपाल विद्यार्थी संघ डडेल्धुराले जिल्ला सदरमुकामस्थित बागबजारमा प्रदर्शन गरेको हो । विरोध प्रदर्शनपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि तथा विद्यार्थी नेता जगत ऐरले समाजमा व्याप्त विकृतिविरुद्व नेपाल विद्यार्थी संघ सधै सक्रिय भएर लाग्दै आएको बताए । ‘शिवशिखर सहकारीलाई जनताको लगानी सुरक्षित भएको ग्यारेन्टी गर्न यसअघि हामीले १५ दिनको अल्टिमेटम दिएका थियौं,’ उनले भने, ‘तर, कुनै पक्षबाट सुनुवाई नभएपछि अहिले हामी बाध्य भएर आन्दोलित भएका छौं ।’

नेता ऐरले जनताबाट करोडौं रकम संकलन गरेर फिर्ता नगर्ने शिवशिखर सहकारीविरुद्व कानूनअनुसार कारबाही गर्न स्थानीय प्रशासनलाई पनि आग्रह गरे । नेपाल विद्यार्थी संघ डडेल्धुराका अध्यक्ष पवन ऐरले १५ दिनभित्र विश्वस्त आधारसहित जनताको रकम सुरक्षित भएको ग्यारेन्टी गर्न आग्रह गर्दै स्थानीय प्रशासनलाई ज्ञापनपत्र बुझाएको बताउँदै त्यसको बेवास्ता भएको बताए ।

मजदुरी गरेर जम्मा गरेको रकम शिवशिखर सहकारीका कारण डुब्ने खतरा छ,’ उनले भने, ‘तत्काल जनताको रकम सुरक्षित भएको ग्यारेन्टी नभए कडा आन्दोलनमा उत्रिन बाध्य हुनेछौं ।’ विद्यार्थी नेता भुवन ओझाले सञ्चालन गरेको कार्यक्रममा विद्यार्थी नेतृ देवकी तमोलीले पनि सम्बोधन गरेकी थिइन् ।

 डडेल्धुराका किसान, व्यापारी र दैनिक ज्यालादारी गरी जिविकोपार्जन गरिरहेका नागरिकले आफ्नो बालबालिकाको भविष्यलाई मध्यनजर गर्दै जम्मा गरेको बचत रकम डुब्ने खतरा बढेपछि नेविसंघ डडेल्धुराले यसअघि प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको थियो ।

प्रतिक्रिया