२०८० चैत १५ गते बिहिबार
ट्रेन्डिङ

आज महाशिवरात्रि पर्व, बैतडीका शिवालयमा पनि भक्तजनको घुइँचो

SansherOnline SansherOnline
शनिबार ०६, फागुन २०७९ ०८:०३
आज महाशिवरात्रि पर्व, बैतडीका शिवालयमा पनि भक्तजनको घुइँचो

बैतडी : आज महाशिवरात्रि पर्व । बैतडीसहित देशभरका शिवालयहरुमा पूजाआजा गर्ने भक्तजनहरुको भीड छ । जिल्लाको सुर्नया गाउँपालिका –२ स्थित प्रसिद्ध पाताल भुवनेश्वरमा धाममा बिहानैदेखि दर्शनार्थीहरुको घुइँचो लागेको सिद्धनाथ–पाताल भुवनेश्वर धार्मिक वन समितिका सचिव मोहनबहादुर बिष्टले बताए । 

पाताल भुवनेश्वर धामको दर्शनका लागि टाढाका भक्तजनहरु आउने गरेका छन् । मेलालाई व्यवस्थित बनाउन सुर्नया गाउँपालिका वडा नं २ र पाटन नगरपालिका वडा नं ४ को क्षेत्रलाई मदिरा निषेधित क्षेत्र घोषणा गरिएको छ ।  

यस्तै दशरथचन्द नगरपालिकास्थित पञ्चदेवल, ईश्वरीगंगा, गोकुलेश्वर लगायतका क्षेत्रमा पनि आज भव्य मेला लाग्ने गरेको छ । 

यस्तै जिल्लाको पञ्चेश्वरस्थित नागार्जुन शिवधाम, सुर्नयाको शंकरपुर शिवधाम, खोड्पेस्थित शिवमन्दिर, पुर्चौंडीस्थित त्रिवेणीधाम, मेलौलीस्थित गेरडा धाम लगायतका क्षेत्रमा मेला लाग्ने गर्दछ । 

यी शिवालय र मन्दिरमा भक्तजनले दिनभर भगवान शिवको पूजा आराधनासंगै भजन किर्तान गर्ने गरेका छन् । महाशिवरात्रि अथवा शिवरात्री हिन्दुहरूको प्रमुख चाड हो । भगवान शिवको उत्पत्ति भएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा पुराणहरूमा वर्णित छ ।

फाल्गुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई सम्पूर्ण दीन दुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीहरूको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान शिवको अति प्यारो दिनका रूपमा पनि लिइने गरिन्छ । व्रत उत्सव मध्ये सर्वोत्तम कहलिएको महाशिवरात्रिका दिन भक्तजनहरूले शुद्ध भई शिव मन्दिरमा पूजा–अर्चना गरी व्रत बस्ने र भगवान शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्दछन् । 
 

प्रतिक्रिया